March 22, 2025, Saturday
२०८१ चैत्र १०

पञ्जाबका मुख्यमन्त्री सिंहद्वारा राजीनामा

पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका हुन्।

पञ्जाब कांग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो। मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति संघर्ष चलिरहेको थियो।

Advertisement

उक्त विवादका बीच केही समयअघि कांग्रेसले सिद्दुलाई पञ्जाब कांग्रेसको अध्यक्षको जिम्मेवारी दिएको थियो।

भारतीय राष्ट्रिय कांग्रेसको ‘हाइ कमाण्ड’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दावी गरिएको छ।

पञ्जाब कांग्रेसका ८० मध्ये ५० जना सांसदले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर सिंहलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेपछि उनले पदबाट राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई संसदीय दलको नेताबाट हटाउनको लागि शनिबार साँझका लागि बैठक बोलाइएको थियो। उनले त्यसअघि नै राजीनामा दिएका हुन्।