April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु

भैरहवा– सिद्धार्थनगर नगरपालिकाले मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम संचालन गरेको छ । बिहीबारबाट तीन दिवसीय तालिम सुरु गरिएको हो । २०६६ मा मेलमिलापको तालिम लिएर नगरपालिकामा मेलमिलापकर्ताको काम गर्दै आएका २७ जना तालिममा सहभागी छन् ।

Advertisement

तालिको शुभारम्भ गर्दै नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा काफ्लेले द्वन्द्वको दिगो व्यवस्थापन र समाज विकासका लागि मेलमिलाप आवश्यक रहेको बताइन् । स्थानीय तहका विवादहरु त्यही व्यवस्थापन गर्न मेलमिलापकर्ताहरुको अहम् भूमिका रहेको उनले बताइन् । उनले तालिममा सिकेका कुराहरु व्यवहारिकरुपमा कार्यान्वयन गर्न आग्रह गरिन् ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले पहिला सिकेका कुराहरुलाई पुनर्ताजगी तालिमले अझ विश्लेषण गर्न र बुझ्न सिकाउने बताए । उनले नयाँ ऐन, नियमका बारे जानकारी लिएर विवाद समाधानमा तालिमले सहजता ल्याउने जनाए । स्थानीय तहमा घरायसी, मानाचामल, विकास निर्माणका विवाद भएको बताउँदै यसलाई ठूलो रुप लिन नदिन मेलमिलापको नीति लिएको र समाधान हुँदै गएको बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष थानेश्वर पौडेलले स्थानीय तहमा विवाद समाधान भए दुवै पक्षले जितेको जस्तो हुने र यसले ठूलो रुप नलिने बताए । उनले एकअर्काबीचको विवाद अदालत पुगे एक पक्षले हार्ने र पछिसम्म समस्या बल्झिनुका साथै दुस्मनी बढ्ने भएकाले स्थानीय तहमा विवाद समाधान गर्न मेलमिलापको नीति लिइएको जनाए ।

तालिममा सहभागीहरुलाई अधिवक्ता सूर्य अधिकारी र अधिवक्ता सीताराम अधिकारीले प्रशिक्षण दिनेछन् । सहभागी मेलमिलापकर्ताहरुलाई मेलमिलापका चरण, सिप, ऐन, नियम र कानूनी कुराहरु सिकाइने अधिवक्ता सूर्य अधिकारीले बताए । यस्तै, स्थानीय तहका विवाद कसरी समाधान गर्ने, वर्तमान कानूनी प्रावधान, समाजिक न्याय, महिला हिंसा, स्थानीय तह संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका विषयहरुबारे सहभागीलाई जानकारी गराइने छ । तालिम शुभराम्भ कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष दीपकुमार थापा, नगरपालिकाका मेलमिलाप संयोजक भीष्मराज पन्थी लगायतको सहभागिता थियो । कार्यक्रम न्यायिक समिति सदस्य उमेश थापाको स्वागत तथा केदारराज भण्डारीको संचालनमा भएको थियो ।