January 23, 2025, Thursday
२०८१ माघ १०

एसओएस विद्यार्थीलाई पुरस्कार, ट्याबलेट र नगद प्रदान

भैरहवा– एसओएस बालग्राम लुम्बिनी, भैरहवाले चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार एसओएसमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । एकदेखि पाँच वर्ष उमेर समूहका विद्यार्थीबीच भएको चित्रकला प्रतियोगितामा आर्या पब्लिक स्कुलका सुप्रियो चौधरी प्रथम, मुनलाइटकी साहना चौधरी द्वितिय र आयुषा आलेमगर तृतिय भएका थिए ।

यस्तै, ६ देखि १० वर्ष उमेर समूहको प्रतियोगितामा भानु माविकी सलमा खातुन प्रथम, मनकामना स्कुलकी सलिना गोतामे द्वितिय र नवदुर्गा माविकी सम्झना विक तृतिय भएकी थिइन् । उनीहरुलाई सिद्धार्थनगर उपप्रमुख उमा काफ्ले, एसओएसको नायव निर्देशक जोत्सना राणा लगायतले पुरस्कार प्रदान गरेका हुन् ।

Advertisement

यस्तै, बाल दिवसको अवसरमा एसओएसले जिल्लाका १४ स्कुलका कक्षा ९, १० र ११ मा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई इलेक्ट्रोनिक डिभाइस ट्याबलेट वितरण गरेको छ । समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रमअन्तर्गत सेवाग्राही विद्यार्थीहरुलाई ट्यावलेट वितरण गरिएको एसओएसको नायव निर्देशक राणाले बताइन् । ‘महामारीका बेला विद्यार्थीलाई मोबाइल नहुँदा अनलाइन कक्षा पढ्नसमेत समस्या थियो’, राणाले भनिन्, ‘अब ट्याबलेटबाट पढ्न सहज हुनेछ ।’

यस्तै, एसओएसले १० विद्यार्थीलाई दुई–दुई हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ । नगर उपप्रमुख काफ्लेले शिक्षा र अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्न एसओएसले गरेको योगदान महत्वपूर्ण रहेको बताइन् । उनले धेरै असाहयलाई सहायता गरेर शिक्षा–दिक्षा प्रदान गर्न एसओएसले योगदान गरेको बताइन् ।

१० वर्षदेखि एसओएस लुम्बिनीले बैकल्पिक स्याहार अन्तर्गत बालबालिकालाई ल्याएर स्याहार सुसार र पठनपाठन गराउँदै आएको छ । यस्तै, वरिपरिका समुदायका विद्यार्थीहरुको शिक्षामासमेत सहयोग गर्दै आएको छ । एसओएस लुम्बिनीमा १ सय १८ बालबालिका र युवालयमा ५२ जना छन् ।