April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आज विश्व आत्महत्या रोकथाम दिवस

शारीरिक, मानसिक, व्यवहारिकका र सामाजिक कारणहरूले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त, आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेषगरी १५ देखि २९ वर्ष उमेरका युवाहरूमा बढी छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढिरहेको, देशका विभिन्न ठाउँहरूबाट निरन्तर आइरहने यो दुःखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ ।

Advertisement

विश्वका हरेक १०० मृत्युमा एउटा मृत्यु चाहिँ आत्महत्याबाट हुने गरेको देखिन्छ । हरेक आत्महत्याको घटनाले समाज र परिवारमा एउटा नमेटिने पीडा दिएर गएको हुन्छ । झनै कोभिड–१९ को त्रासदीका कारणले घरभित्रै बसेका परिवार, बन्द भएका व्यवसाय अनि बढेका मृत्युका लस्करहरूको कारणले समाजमा बग्रेल्ती मनोरोग र आत्महत्याका शृृंखलाहरू बढ्दा छन् । सन् २०२१ मा आत्महत्या रोकथाम दिवसको नारा चाहिँ कार्यमार्फत आशाको सिर्जना भन्ने हो ।

Advertisement

त्यसैले, आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नेपाल मनोचिकित्सक संघले माइतीघर मण्डलामा मैनबत्ती बालेर बढ्दै गएको आत्महत्याविरुद्ध जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

थुप्रै मानिसहरूको आत्महत्याका कारण दुःख खप्न नसकेर भनिने गरिन्छ । खासमा दुःखविनाको जीवन छिट्टै नै खल्लो हुँदै जान्छ । सुख, दुःख जीवनका दुई पाटा हुन् । मानव भएर जन्मेपछि एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्छ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुग्छ । मानसिक स्वास्थ्यले ती व्यक्तिहरूलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुँदैन । उनीहरू आफ्नै जीवन नास गर्न जाँदैछन् । यस किसिमका व्यक्तिहरूलाई भने यिनका आफन्त इष्ट मित्रले विशेष ध्यान दिनुपर्छ ।

नेपाल जस्तो देशमा भने आर्थिक समस्या पनि आत्महत्याको मुख्य कारण भन्न सकिन्छ । ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरूले देहत्याग गरेका छन् । कहिले विदेशमा गएका नेपालीहरूले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुन्नुपर्छ त कहिले प्रेमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो बेइज्जत भएपछि समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेको छन् । कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याका लागि हो त रु यस्ता खबरहरूले सुन्नेको मन खिन्न बनाउँछ । चिन्नेलाइ रुवाउँछ । अझ आफन्तलाई त एउटा यस्तो घाऊ दिन्छ, जुन कहिले पुरिन सक्दैन ।

आत्महत्याको सोच आफूभित्र रहेको एउटा दानवीय सोच हो । जीवनका हरेक खुशी र आँशुलाई सकारात्मक ढङ्गले लिए यो सोच कहिले हाबी नहोला । सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ । असफल व्यक्तिहरूले पनि जुनसुकै मोडमा दोश्रो मौका पाउन सक्छन् ।
सासप्रति विश्वास राखौँ ।