January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

दर खाएर रमाउँदै दिदी–बहिनी

नेपाल यतिखेर तीजमय छ । विश्वभर नेपाली जहाँ जहाँ छन् तीजमय माहौल बनाएर बसेका छन् । टिभी रेडियोमा आएका तीजाम्य गीत, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालो अनि बाटा–घाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ?

Advertisement

तीजलाई कठोर व्रत भन्दा पनि समर्पणका रूपमा हेर्ने गरिन्छ । आउनुहोस् आज बात मारौँ, दर खाने दिनबारे । हुन त, आजभोलि तीजको दर तीजभन्दा महिनौँ अघिबाटै शुरु भइसकेको हुन्छ, दर । तथापि परम्परागत रूपमा तीजको एकदिन अगाडि वास्तविक दर खाने चलन छ ।

शताब्दीऔँदेखि महिलाहरूको शौभाग्यका लागि बसिने यो तीजका आयाम आजभोलि समयसँगै आधुनिक हुँदै गएको छ । महिनौ अगाडिदेखि दरखाने चलन, तडक–भडक र सामाजिकीकरणको नाममा अतिरञ्जित गर्दै भड्किलो संस्कार र चलनहरू हामीले देख्दै आएका छौँ । तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रूपमा मात्र लिइनु जरुरी छ ।

यो चाडलाई गरिब–धनी सबैको पहुँचमा हुने गरी मनाइनु जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ । स्वास्थ्यको पनि विशेष ख्याल गर्नु नै छ । धेरै चिल्लो–पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनका अधिकतम सेवनले थप बिरामी गराउन सक्छ । तसर्थ, दर खाने क्रममा यसमा धेरै ख्याल गर्न जरुरी हुन्छ ।

निराहार तथा निर्जला रही तीज मनाउँदा फल प्राप्त गरिन्छ । अविवाहिताका लागि असल पति र विवाहिताका पति अनि परिवारको स्वास्थ्य एक दिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एक–अर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्नसक्छ । यस दिन पुरुषहरूको पनि उत्तिकै दायित्व हुन्छ, आमा, दिदी–बहिनी अनि पत्नीको यो सहृदयताका लागि । पुरुषले पनि जिम्मेवारी उठाउन जरुरी छ । आजका दिन उहाँहरूलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ । तपाईं अविवाहित पुरुष हुनुहुन्छ भने के थाहा तपाईंका लागि पनि कोही कतै भोलि व्रत बस्नेवाला हुनुहुन्छ कि ?

भोलिको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ । किनभने भोलिको व्रत केवल व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा परिकारहरू खाने चलन नै दर हो ।

दरको कुरा गर्दा सामान्यतया पकवानहरूमा ढकने, आलुदम, आलु–कवाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ । अझ विवाहित चेलीका लागि त दरको महत्व वास्तवमै अगाढ स्नेहमयी हुन्छ । माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू आजको दिन आमा, हजुर या भाउजुहरूको स्नेहमा लुटपुटिँदै उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने, रमाउने चलन छ ।

तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरूका लागि भनेजस्तो राम्रो जीवन साथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरू हुन् । दर खाने दिनका याद गर्दै माइत जान नपाएका चेलीहरूको वेदना पनि गहभरि आँशुसँगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।

यसपाला तीजमा यस्तै भयो आमा
अर्कोपाला तीजमा खोलाले नछेके

यस्ता कैयन भाकाहरू छन्, जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिन्छ–शदियौँदेखि नेपाली समाजमा ।

यसपाला बाढी–पहिरोले कतिपय चेलीका घरहरू अनि धेरैका माइतहरू बगाएको छ, अनि सँगसँगै तिनीहरूको सपना र आकांक्षाहरू पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरू पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यो वर्ष सबैतिर समान छैन । यता नाचगान हुँदै गर्दा उता रुवावासी हुँदैछन् । यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दै गर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मीठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरू उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसँग मेल नखान सक्छन् । यसपालिको तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा थलोको निर्माण गरौँ ।

तीज एउटा संस्कारमात्र नभई सभ्यता हो । हेर्नेले यसलाई नारीवादी चाडका रूपमा हेर्ने गर्छन् । तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजु, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरूको साझा चौतारीका रूपमा तीजलाई लिन सकिन्छ ।

वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादी पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ ।

जे होस् आज दर खाने दिनको हामी सबैलाई मुरी–मुरी शुभकामना । हामी सबै जनाको परिवारको सु–स्वास्थ्य र दीर्घायू कायम होस् । अनि भनेजस्तो जीवन–साथी पाइयोस् अनि सम्पूर्ण दिदी–बहिनीहरूको शौभाग्य अटल रहोस् ।