January 23, 2025, Thursday
२०८१ माघ १०

लायन्सद्वारा ४२ विद्यार्थीलाई रेडियो प्रदान

भैरहवा– लायन्स क्लब अफ बुटवल शनसाइनले जिल्लाको ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले आवश्यक सामग्री रेडियो सहयोग गरेको छ । पश्चिम पहुनी माध्यामिक विद्यालयका ४२ जना विद्यार्थीहरुलाई एक–एक सेट रेडियो प्रदान गरिएको बुटवल अध्यक्ष आरती खरालले बताइन् ।

कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थिति भएर विद्यालयले पठनपाठन संचालन गर्न सकेको छैन । ‘यस्तो अवस्थामा ल्यापटप तथा मोबाइल मार्फत् अनलाइन कक्षा पनि लिन असमर्थ भएका विद्यार्थीहरुका लागि रिड नेपालले रेडियो शिक्षा कार्यक्रम चलाएको रहेछ’, उनले भनिन्, ‘विपन्न परिवारका धेरै विद्यार्थीले रेडियो समेत किन्न नसक्दा उक्त शिक्षा लिन पनि बञ्चित भएको खबर पाएसंगै हामीले रेडियो किनेर विद्यार्थिलाई बितरण गरेका हौं ।’

Advertisement

रेडियो पाएसंगै कक्षा ४ देखि कक्षा ८ सम्म उक्त विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । २०१६ सालमा स्थापना भएको यो विद्यालय तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पूर्व पहुनीमा छ । उक्त विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापनले विभिन्न संघसंस्थासँग सहकार्य समेत गर्दै आएको छ ।

विद्यालयका प्रधानाध्यापक दुर्गा नारायण श्रेष्ठले क्लबको सहयोगले विद्यार्थीको एक घर एक रेडियो अभियानलाई टेवा पुगेको बताए । ‘हामीले विद्यार्थीको पठनपाठन गराउने विभिन्न विधी अपनाएका छौं । कक्षा ४ सम्म टोलटोलमा पुगेर शिक्षकले होमवर्क दिने गरेका छन् भने कक्षा ५ देखि माथि अनलाइन कक्षा चल्छ । कक्षा ५, ६ र ७ का धेरै विद्यार्थी अनलाइनमा आउन सकेनन् । तर कक्षा ८, ९ र १० का ६० प्रतिशत सहभागी छन्’, उनले भने ।

प्रअ श्रेष्ठका अनुसार रिड नेपालले तिलोतमा नगरपालिका भित्र १९ विद्यालयमा मेरो रेडियो, मेरो भविष्य कार्यक्रम सञ्चालन गरेको छ । इन्टरनेट, मोबाइल, ल्यापटप किनेर अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीका लागि उक्त कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।

रिड नेपालले रेडियो कार्यक्रम शुरु गरेसंगै १५ थान रेडियो दिएको थियो । विद्यालयले ५ थान थपेर शुरुमा २१ थान रेडियो बितरण गर्यो । त्यसपछि रोटरी क्लब अफ बुटवल चौतारीले ४० थान रेडियो सामग्री दियो भने शनिबार ४२ थान रेडियो लायन्स क्लब अफ बुटवल सनसाइनले सहयोग प्रदान गरेको छ । रेडियोमा विहान ८ बजेदेखि ९ बजेसम्म र सांझ साढे ५ बजेदेखि साढे ६ बजेसम्म रेडियो कार्यक्रम पाठ्यक्रममा आधारित भएर संचालन हुने गर्दछ ।

रेडियो हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लब अफ ३२५ वि २ का भाइस डिस्ट्रिक गर्भनर नवराज न्यौपानेले शिक्षाको क्षेत्रमा लायन्स क्लब अफ बुटवल शनसाईनले गरेको सहयोग महत्वपूर्ण भएको बताए । लायन्स क्लब अफ ३२५ बि २ का प्रमुख सल्लाहकार उमंग देवकोटाले कोभिड कारण समग्र क्षेत्र प्रभावित भइरहेको बेला सबैभन्दा बढी असर विद्यालयमा परेको बताउँदै महंगो नेट, महंगो मोबाइल वा ल्यापटप किनेर आफ्ना बालबालिकालाई पढाउन नसकेका मजदुर तथा गरिब परिवारका बालबालिकाको पढाईमा सहयोग पुर्याउने कार्यमा लायन्स क्लब अफ बुटवल सनसाईनले गरेको सहयोग शिक्षाको क्षेत्रमा अतुलनीय रहने बताए ।

वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुराउने ंगरी गरेको सहयोग उल्लेखनीय भएको बताए ।