April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

एम्नेष्टीका नयाँ सदस्यलाई प्रशिक्षण

बुटवल– एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलले नयाँ सदस्यहरुलाई प्रशिक्षित गरेको छ । समूह १२ बुटवलको स्थापना दिवसको अवसर पारेर नयाँ सदस्यलाई एम्नेष्टी र यसले गर्ने कामका बारेमा प्रशिक्षित गरिएको हो ।

Advertisement

बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा समूहका पूर्व संयोजक तथा प्रशिक्षक शालिकराम वञ्जाडेले प्रशिक्षण दिएका थिए । एम्नेष्टी इन्टरनेशनल नेपालको मातहतमा रही काम गर्नेगरी समूह १२ बुटवल २०४६ भदौ १७ गते स्थापना गरिएको थियो ।

Advertisement

एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाँको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेखेका थिए । उक्त लेखका माध्यमबाट वेलायतसहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो ।

उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम्मेलनको आयोजना गरे र सोही वेल्जियम सम्मेलनले उक्त अभियानलाई मानव अधिकारको क्षेत्रमा वकालत गर्नेगरी एम्नेष्टी इन्टरनेशनल स्थापना गरेका हुन् । त्यसपछि अन्य राष्ट्रहरुले पनि एम्नेष्टी इन्टरनेशनललाई मान्यता दिन थाले । त्यतिवेला संयुक्त राष्ट्रसंघ, युनेस्को, युरोपियन युनियन लगायतका देशहरुले एम्नेष्टीलाई सल्लाहकारको रुपमा समेत राखेका थिए ।

नेपालमा भने एम्नेष्टी सन् १९७९ मा भित्रिएको हो । नेपालमा नुतन थपलियाले सन् १९७९ मा एम्नेष्टी इन्टरनेशनल नेपाल स्थापना गरेपछि विविध कारणले १९८२ मा मान्यता खारेज भयो । पछि नेपालको राजनैतिक व्यबस्था परिवर्तन भएर प्रजातन्त्र पुनःस्थापना भएपछि सन् १९९० मा कृष्ण पहाडीको नेतृत्वमा एम्नेष्टी इन्टरनेशनल नेपाल पनि पुनःस्थापना गरिएको थियो । पछि सिके राउतको अभिव्यक्तिको विषयमा विवाद भएपछि उनले एम्नेष्टीबाट राजीनामा दिए ।

हाल नेपालसहित ८० हाराहारी देशमा एम्नेष्टी इन्टरनेशनलका शाखा छन् । त्यस्तै १५० बढी देशका नागरिकहरु यसका सदस्य छन् । ७ वटा देशमा प्रादेशिक कार्यालय र अन्तर्राष्ट्रिय सचिवालय छन् । त्यस्तै यसका विश्वमा ७ हजार ५ सय बढी समूह छन् । एम्नेष्टीले मुख्यतया कुनै पनि विषयमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता कायम गर्ने गरेको छ ।

यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था हो । त्यस्तै नेपालमा एम्नेष्टी इन्टरनेशनल नेपाल मातहत सरदर ८०–८५ वटा समूह छन् भने ६ हजारको हाराहारी सदस्य संख्या छ । यति ठूलो इतिहास बोकेको संस्थाको बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराउनका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समूहकी संयोजक शरीता भारीले बताइन् ।

उनले अरु संस्थाले जस्तो अनुसन्धान बिना नै धारणा व्यक्त नगर्ने भएकाले एम्नेष्टीले केही गर्दैनकी जस्तो देखिए पनि त्यस्तो नभएको र एम्नेष्टीले धेरै परिणाम दिएको दावी गरिन् । कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपाल निर्माणाधिन महिला समूह बुटवलकी संयोजक जानकी नेपाल, राधा ज्ञवाली, कार्यक्रम संयोजक पूर्णबहादुर ज्ञवाली लगायतले भनाई राखेका थिए । कार्यक्रम सचिव बिमल बस्नेतको सञ्चालनमा भएको थियो ।

दिवसमा जनचेतनामूलक प्रदर्शन
बलपूर्वक वेपत्ता पारिएको पिडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुटवलमा जनचेतनामुलक प्रदर्शन गरिएको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवल र निर्माणधीन महिला समूह बुटवलले संयुक्त रुपमा जनचेतनामूलक प्रदर्शन गरेका हुन् । कार्यक्रममा दुबै समूहका पदाधिकारी सदस्यहरुको सहभागिता थियो ।