November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

राप्ती प्रादेशिकको सेवा ठप्प

दाङ – राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार गरेको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आइतबारदेखि थालेको आन्दोलन जारी छ । उनीहरुले सोमबार पनि आपकालीन बाहेकका सेवा बन्द गरेका थिए । दुव्र्यवहार गर्ने समूहलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । उनीहरूले सोमबार घोराहीमा प्रदर्शन गरेका थिए ।

Advertisement

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर व्यवस्थापन समिति अध्यक्ष पदम पोख्रेलले दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी रहने बताए । ‘डाक्टरमाथि भएको घटना निन्दनीय छ । स्वास्थ्यकर्मीको मनोबल गिराउने काम भएको छ,’ उनले भने, ‘दोषीलाई पक्राउ गरी कारबाही नगर्दासम्म आन्दोलन जारी रहनेछ । त्यतिबेलासम्म सर्वसाधारणलाई पर्ने बाधाप्रति हामी दुःखी छौं ।’

Advertisement

शुक्रबार दिउँसो युवाहरूको एक समूहले डा. सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको थियो । उक्त घटनापछि जिल्लाभरका स्वास्थ्यकर्मी अस्पतालको आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमर्जेन्सी सेवाबाहेक सबै सेवा ठप्प पारेर आन्दोलित छन् । चिकित्सक संघ दाङको आह्वानअनुसार जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू आइतबारदेखि इमर्जेन्सीबाहेकका सेवा बन्द गरी आन्दोलित भएका हुन् ।

एमालेनिकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षत्रीलगायतको टोली घटनामा संलग्न रहेको भन्दै स्वास्थ्यकर्मीहरूले उनीहरूमाथि कारबाहीको माग गरेका छन् । घटनामा संलग्न रहेको भन्दै एमाले जिल्ला कमिटीले दुवै जनालाई पदबाट मुक्त गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । जिल्ला अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले प्रेस विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

दुव्र्यवहारको आरोपमा सोमबार दुई जना पक्राउ परेका छन् । अन्य चार जनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । पक्राउ परेकाविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएपछि पाँच वर्षसम्मको कैद सजाय हुने गरी अध्यादेश ल्याइएको थियो । मोसो तयार गर्ने र दल्ने कार्यमा संलग्न मुख्य अभियुक्त पक्राउ परिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । अन्य व्यक्तिको पहिचान गर्ने र खोज्ने काम जारी रहेको उनले बताए ।

अनुसन्धानमा प्रभाव पर्ने भएकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको काफ्लेले जानकारी दिए । ‘मोसो तयार गर्ने, पन्जा किन्ने र मोसो दल्ने काममा संलग्न व्यक्ति पक्राउ गरिसकेका छौं । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अन्य व्यक्तिको पनि पहिचान गर्दैछौं । छिट्टै अरु व्यक्ति पनि पक्राउ पर्छन् ।’