July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

पौडी खेल्दा हराएका यादवको शव सशस्त्रले भेट्टायो

भैरहवा– पौडी खेल्ने क्रममा हराएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११, भुजौलीका बुद्धिराम यादवको शव सशस्त्र प्रहरीले फेला पारेको छ । ३५ वर्षीय यादव शनिबार दिउँसो भुजौलीस्थित खोलामा पौडी खेल्ने क्रममा हराएका थिए ।

पौडी खेल्दा खोलामा यादव हराएको खबर पाउनसाथ उनको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर, रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा १० जनाको टोली खटिएको थियो ।

सशस्त्रको टोलीले हराइरहेका यादवको खोजी गर्ने क्रममा करिब सवा घण्टापछि शव फेला पारेको एसपी राजेश उप्रेतीले जानकारी दिए । सशस्त्रले उक्त शव पोष्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

Advertisement