काबुल विस्फोट: १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० जना भन्दा धेरैको मृत्यु


अफगानिस्तानको काबुल विमानस्थलमा बिहीबार भएका दुई शक्तिशाली विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ।
विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको पुष्टि भएको बिबिसीले जनाएको छ।
अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ दुईवटा बम हमला भएका थिए।
हमलामा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।
‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ’, उनले भनेका छन्।
राष्ट्रपति बाइडेनले अपराधीहरुलाई खोजेरै छाड्ने प्रतिवद्धता पनि जनाएका छन्।
भीषण बम विस्फोटमा कयौँ घाइते भएका छन्।
अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी भएका यी दुई विस्फोटहरु आत्मघाती भएको तालिवानले दाबी गरेको छ।
बिहीबारको विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन्।
आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए।
प्रतिकृया दिनुहोस्