January 23, 2025, Thursday
२०८१ माघ १०

चीन डेल्टा भेरियेन्ट नियन्त्रण गर्न सफल पहिलो मुलुक बन्दै

गएको जुलाईपछि पहिलोपटक चीनमा कोभिड–१९ का स्थानीय नयाँ संक्रमित फेला परेका छैनन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)का अनुसार यसले देशको शून्य कोभिड नीतिलाई सफल तुल्याएको छ ।

चीनमा जुलाईदेखि नै अति संक्रमक मानिएको डेल्टा भेरियन्ट फैलिएको थियो । विमानस्थलका कर्मचारीमा कोभिड–१९ देखापरेपछि जताजतै भाइरस फैलिँदा सरकारले यसलाई नियन्त्रण गर्न संघर्ष गर्नुपरेको थियो, जसलाई २०२० पछिकै सबैभन्दा खराब संक्रमण बताइएको थियो ।

Advertisement

उक्त भाइरस चीनका ३१ वटा प्रान्तमा फैलिँदा एक हजार २०० भन्दा धेरै व्यक्ति संक्रमित भएका थिए । यो चीनको भाइरससम्बन्धी ‘शून्य सहनशीलता नीति’का लागि ठूलो चुनौती बनेको थियो ।

सोही कारण स्थानीय निकायहरूले लाखौँ नागरिकलाई कडा ‘लकडाउन’मा राखेका थिए । ठूलो स्तरमा परीक्षण गरिएको थियो । ‘ट्रेसिङ’को अभियान पनि अघि बढाइयो । स्थानीय हवाई यात्रामा पनि कडाइ गरियो ।

सरकारको यस किसिमको नीति भाइरस नियन्त्रण गर्नमा सफल पनि साबित भइरहेको पाइएको छ । किनकि, दैनिक संक्रमणको दर पछिल्ला केही हप्तामा ‘सिंगो अंक!मा झरेको छ, जुन दुई हप्ताअघिसम्म १०० पुगेको थियो ।

त्यस्तै, सोमबार त्यहाँ २१ नयाँ संक्रमित देशबाहिरबाट भित्रिएका थिए र स्थानीय रूपमा फैलने लक्षणयुक्त संक्रमितको संख्या शून्य भएको छ । जुलाई १६ पछि पहिलोपटक संक्रमितको संख्या यसरी शून्यमा झरेको हो ।

यही ‘ट्रेन्ड’ जारी रहे चीन डेल्टा भेरियेन्ट पूर्ण नियन्त्रण गर्न सफल हुने पहिलो मुलुक बन्नेछ ।

चीनसहित सिंगापुर, अष्ट्रेलिया र न्युजिल्यान्ड पनि कोभिड–१९ भाइरसलाई आफ्नो सीमाभन्दा बाहिर राख्न सफल रहँदै आएका छन् । ती देशहरूले अधिकांश अवस्थामा विदेशीहरूका लागि आफ्नो सिमाना बन्द राखेका छन् र भित्रिनेहरूमा पनि अत्यन्तै कडा ‘क्वारेन्टिन’ लागु गरेका छन् ।

त्यस्तै, देशभित्र पनि परीक्षणको प्रक्रिया आक्रामक रूपमा लागु गराइरहेका छन् भने लकडाउन पनि जारी गरिरहेका छन् । एक वर्षभन्दा लामो समयसम्म उनीहरू भाइरसलाई रोक्न सफल भएका हुन् ।

तर, नयाँ डेल्टा भेरियेन्ट फैलन सुरु भएसँगै उनीहरूले अपनाउँदै आएको नीतिबारे पुनःविचार गर्नुपर्ने अवस्था आयो । जस्तै, अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, मेलबर्न र राजधानी क्यानबेरा समेतमा हप्तौँ लकडाउन गरिँदा पनि संक्रमण बढ्ने क्रम रोकिएन । शनिबार मात्र त्यहाँ महामारी सुरु भएदेखिकै उच्च संख्यामा नयाँ संक्रमितहरू थपिएका थिए । यता, हजारौँ मानिस लम्बिँदै गएको लकडाउनको विरोध गर्न सडकमा उत्रिरहेका छन् ।

अष्ट्रेलियाको मिडियामा प्रकाशित एक लेखका अनुसार प्रधानमन्त्री स्कट मरिसनले अहिलेका लागि लकडाउन आवश्यक भएको तर अब लामो समयसम्म यसलाई जारी राख्न जरुरी नपर्ने बताएका छन् ।

सिंगापुरमा पनि कोभिड–१९ सँगसँगै जीवनयापन गर्नुलाई ‘न्यु नर्मल’का रूपमा अपनाइने भनिएको छ ।

तर, चीनले भने आफ्नो पुरानो नीति यथावतै राखेको छ । राष्ट्रिय प्रसारक सीसीटीभीले सोमबार चेतावनी दिँदै महामारी अन्त्य नभइसककोले मानिसलाई लापरबाही नगर्न भनेको छ । त्यस्तै, चीनले खोप अभियानलाई पनि तीव्र रूपमा निरन्तरता दिएको छ । सीएनएनबाट ।