April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

दशैं अगावै कक्षा १२ को परीक्षा

राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब   दशैँ   अगावै   परीक्षा   हुन   सक्ने   अवस्था   सिर्जना   भएको   जानकारी   बोर्डका   अधिकारीहरूले दिएका छन् । 

Advertisement

११  र  १२  हेर्ने  परीक्षा  नियन्त्रक  कृष्णप्रसाद  शर्माले  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा  रहेको  जानकारी  दिए  ।  

Advertisement

सीसीएमसीसित  अनुमति  लिएपछि  १५  दिनको  अग्रिम  सूचना  दिएर  विद्यार्थीका  लागि  परीक्षाका  बारेमा  सूचित  गरिने  उनले  बताए  ।  राजधानी  र  सहरी  क्षेत्रमा  अध्ययन  गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए ।

सीसीएमसीले  अनुमति  दिएमा  स्वास्थ्य  सुरक्षाको  मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै  समस्या  नभएको  परीक्षा  नियन्त्रक  शर्माले  स्पष्ट  गरे । सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप  कक्षा  १२  मा  अध्ययन  गर्ने  विद्यार्थीलाई  उपलब्ध  गराएको छ ।

यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा,  विज्ञान  तथा  प्रविधि  मन्त्रालय  र  स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।