March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रेम र सद्भावको प्रतीक राखी पर्व मनाइँदै

साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा छ । यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको छ ।

Advertisement

रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र किन्न बस्तीका चोकचोकमा मिथिलानी ९मिथिलाका नारी०को भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारका जोहोमा लागेकाले मिठाइ पसल पनि भरिभराउ छन् ।

Advertisement

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलासँगै आजभोलि तराईका जिल्लाहरु पनि राखी पर्व मनाइँछ । यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वका तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । स–साना नानीहरुका घरका अभिभावकले सहयोग गर्दछन् ।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभा, दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू, मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ। सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको छ । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यस पर्वको तयारी सुरु हुने गरेको छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । हिन्दू परम्पराको रक्षावन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको छ । रक्षावन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको छ ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ । त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्था र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षावन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको छ ।

राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन् । एक अर्को परम्पराभित्रका समुदायले आपसी देखासिकी र घुलमिलले पर्व साझा बन्दै गएका छन् । पछिल्लो दशकमा अत्याधुनिक सूचना र सञ्चार प्रविधिको विकासले फरक–फरक परम्पराका समुदाय एकाकार बन्दै गएर पर्व साझारूपमा मनाउन थालेका छन् ।

केही वर्षयता मधेशमा बस्ने पर्वते मूलका हिन्दू मात्र नभएर इस्लाम धर्मावलम्बी युवा पनि हिन्दू परिवारकी चेलीलाई दिदीबहिनी मानेर राखी बधाउन थालेका छन् । यो आपसी हेलमेल र सामाजिक, सांस्कृतिक सद्भावको अपूर्व नमूना बनेको छ ।