February 8, 2025, Saturday
२०८१ माघ २७

सशस्त्रद्वारा लागुऔषध बरामद

भैरहवा – सशस्त्र प्रहरी बल नेपालले लागुऔषध बरामद गरेको छ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट सशस्त्रले लागुऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही मातहत फरवार्ड बेस बगौलीबाट खटिएको गस्ती टोलीले लागुऔषध बरामद गरेको हो ।

सशस्त्रले दुई एमएलका नोफिन ४ सय ७ सिसी र डाइजापाम दुई एमएलका ४ सय ६० सिसी बरामद गरेको छ । मर्चवारी गाउँपालिका–६, ठर्की सीमा इलाकामा सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको सात जनाको गस्ती टोलीले उक्त लागुऔषध बरामद गरेको नं. २७ गणका डीएसपी शोभाकान्त खनालले जानकारी दिए ।

सशस्त्रको गस्ती टोलीलाई देखेपछि लागुऔषध बोकेका तीन जना भने भागेका छन् । प्लास्टिकको झोला र रेनसुटको कभर छाडेर उनीहरु भारततर्फ भागेका हुन् ।