April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अफगानिस्तान तालिबानको कब्जामा, अब उसैको सत्ता

अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो ।

Advertisement

अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ ग़नी देश छोडेर भागेका छन् । उनले छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख छ । राष्ट्रपति भागेसँगै तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेर आफ्नो विजय घोषणा गरेका हुन् ।

Advertisement

तालिबानका प्रवक्ताले ‘शान्ति पूर्ण रुपमा शक्तिको हस्तान्तरण’ हुनु पर्ने बताएका छन् । उनले काबुलका नागरिक सुरक्षित रहेको दाबी पनि गरेका छन् ।

तर काबुल विमानस्थलमा भिडभाड अत्यधिक मात्रामा देखिएको छ । विदेशी, अफगान अधिकारी र अरु नागरिकहरु देश छोड्ने चाहनामा त्यहाँ पुगेका देखिएका छन् । सबै व्यवसायिक उडानहरु रद्द गरिएका छन् ।

अमेरिका, क्यानडा, बेलायत, जर्मनीसहितले आफ्ना नागरिकको उद्धारका लागि सैनिक विमानको प्रयोग गरेका छन् । तर आफूहरुको सैन्य अभियानको क्रममा सहयोग गरेका अफगानहरुको उद्धारलाई भने उनीहरुले आँखा चिम्लिएका छन् ।

तालिबानको कब्जामा देश गएसँगै महिलाहरुको अवस्थालाई लिएर चासो र चिन्ता व्यक्त भएको छ । केही क्षेत्रमा तालिबानले महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको खबर आइरहेका छन् ।

अति तीव्र गतिमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो । मात्रै १० दिनको अन्तरालमा उनीहरुले देशका सबै प्रमुख शहरमा कब्जा जमाएका हुन् ।

अमेरिकाले सहयोग तथा तालिम प्रदान गरेको अफगान आर्मी तालिबान लडाकु समक्ष निरिह देखिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले केही हप्ता पहिले मात्रै तालिबानले अफगानिस्तानमा पूर्ण नियन्त्रण चाँडै कायम गर्न नसक्ने बताएका थिए ।

यस्तै अमेरिकी गुप्तचर निकायले पनि काबुलमा नियन्त्रण कायम गर्ने प्रयासका लागि नै कम्तीमा तीन महिना लाग्ने बताएको थियो । तर तालिबानले निकै छिटो आफ्नो प्रभाव कायम गरेका हुन् ।

सन् २००१ देखि सन्यै अभियान जारी गरेको अमेरिकाले २० वर्षमा अफगान आर्मीमा गरेको लगानीका आधारमा गरेको क्षमताको विश्लेषण गलत भएको विदेश मन्त्री एन्थोनी ब्लिंकेनले बताएका छन् ।

अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा जारी रहेको नेटो सैन्य अभियान अन्त्य गर्ने घोषणासँगै तालिबानले नियन्त्रण कायम गर्ने क्रम सुरु गरेको थियो ।

सन् २००१ मा सत्ताबाट हटाइएको तालिबान फेरि शक्तिमा आउने भएको छ । उसले आफूले पूर्ण अधिकारसहितको सत्ता पाउनु पर्ने बताएको छ ।

तालिबान शक्तिमा आउने भएसँगै पछिल्लो २० वर्षमा महिला तथा मानवअधिकारको पक्षमा भएको प्रगति गुम्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।