जेसीज सप्ताह सुरु, पहिलो दिन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


भैरहवा– यहाँ जेसीज सप्ताह–२०२१ सुरु भएको छ । जेसिआई सिद्धार्थ नेपालको आयोजनामा साताव्यापी कार्यक्रम गर्ने उद्देश्यसहित सप्ताह सुरु गरिएको हो । सप्ताहको शुक्रबार लुम्बिनी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले शुभराम्भ गरे ।
सप्ताको पहिलो दिन सिद्धार्थनगर नगरपालिका–१, स्थित पक्लिहवा माध्यमिक विद्यालय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यो विद्यालयमा कक्षा ६–९ सम्म अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जेसीज सप्ताह निर्देशक दिपक काफ्लेले जानकारी दिए ।
भदौ ५ गतेसम्म संचालन हुने साताव्यापी कार्यक्रमअन्तर्गत साउन ३० गते उत्प्रेरणात्मक तालिम, ३१ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता र ३२ गते चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम आयोजना गरिएको जेसिआई सिद्धार्थका अध्यक्ष गोपाल ज्ञवालीले बताए । यस्तै, भदौ १ गते निःशुल्क दन्त शिविर, २ गते खुल्ला कविता प्रतियोगिता र भदौ ५ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको अध्यक्ष ज्ञवालीले बताए ।
जेसीज सप्ताह सुरु गर्दै सांसद खानले बिना स्वार्थ समाज सेवामा संस्था लागेको भन्दै अझै सामाजिक उत्तरदायित्वका काम गर्दै जान आग्रह गरे । ‘सामाजिक सेवासँगै अब जेसीजले जनप्रतिनिधिलाई जवाफदेही बनाउने खालका कार्यक्रममा केन्द्रित हुनुपर्छ’, उनले भने, ‘यसले नेतृत्वलाई जिम्मेवार बनाउँछ । जनताका काम छिटो–छरितो हुन्छन् ।’
नेता खानले जेसीजमा आबद्ध १८–४० वर्ष उमेर समूहका युवाहरुले पनि राजनीतिप्रति चासो देखाउनुपर्नेमा बताए । ‘राजनीतिक नेतृत्व, प्रतिनिधि सक्षम भए उसले समाज रुपान्तरणका लागि खाका प्रस्तुत गर्छ’, उनले भने । शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार भए त्यसले भ्रष्टाचारलाई पनि न्युनीकरण गर्ने उनले बताए । नेपाल जेसीज वर्ष २०२१ का कार्यकारी उपाध्यक्ष भोजराज चापागाईले सामाजिक रुपान्तरणमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘जेसीजले अब राष्ट्रिय मुद्दामा पनि चासो राख्न आवश्यक छ, यसका लागि तपाईं हामी अग्रसर हुनुपर्छ ।’
नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवालीले कोभिड–१९ को समयमा पनि जेसीआई सिद्धार्थ, नेपालले धेरै राम्रा कार्य गरेको भन्दै प्रशंसा गरे । नेपाल जेसीजले वर्ष २०२१ लाई ‘तालिम वर्ष’ को घोषणा गरी अगाडि बढेको बताउँदै यसबाट युवापुस्ताको क्षमता विकास हुने र समाज सेवामा थप प्रेरित हुने जनाए ।
जेसीआई सिद्धार्थका मानार्थ सदस्य डा. गोविन्द वल्लभ भट्टले शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । उनले जेसीज सप्ताहको सफलताको कामना गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जेसीआई सिद्धार्थसँग उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको बताए । ‘युवाहरुलाई उद्यमशिलतातर्फ लैजान संघ लागिपरेको छ, यसमा हामी यहाँहरुसँग सहकार्य गर्न तयार छौं’, उनले भने ।

तिलोत्तमा जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव शर्माले जेसीआई सिद्धार्थले पवित्र कार्य गरी जेसीज सप्ताहको शुभारम्भ गरेको बताए । उनले शैक्षिक सामग्री वितरण गर्नु आफैमा राम्रो कार्य भएको जनाए । जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष सुशील गुरुङले जेसीज सप्ताह जेसीले नेपालीहरुको महान चाडपर्व जस्तै विगतदेखि नै मनाउँदै आएको बताए । शैक्षिक सामग्रीले विद्यार्थीहरुको पठनपाठनमा टेवा पुर्याउने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले स्थापना कालदेखि नै जेसीआई सिद्धार्थले सामाजिक कार्य गर्दै आएको र त्यो समाजका लागि महत्वपूर्ण रहेको बताए । उनले शैक्षिक सामग्रीको अभावमा पठनपाठनमा समस्या रहेका विद्यार्थीहरुलाई सहयोग पुग्ने बताए । जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष मंगल भण्डारीले जेसीज सप्ताहको सफलताको शुभकामना व्यक्त गरे । उनले आजको बालबालिका भोलि जेसीजमा आबद्ध भएर सामाजिक कार्यमा लाग्ने विश्वास व्यक्त गरे ।
जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष ज्ञवालीले जेसीआई सिद्धार्थले दोस्रो लहरको कोभिड–१९ महामारीमा अस्पताल तथा आइसोलेशन सेन्टरमा विरामी तथा विरामी कुरुवाहरुलाई खाना, रिक्साचालकको उपचारका लागि आर्थिक सहयोग तथा उनको परिवारलाई खाद्यान्न सामग्री प्रदान, वृद्धाआश्रमलाई सहयोग, सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण लगायतका कार्यक्रम गरेको बताए । कार्यक्रम संयोजक दीपक सापकोटाको स्वागत, अर्जुन कुंवरको आस्था पाठ तथा महासचिव सागर पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्