July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजीनामा दिनुअघि पोखरेलले गराए मन्त्रिपरिषदबाट यस्ता निर्णय

बुटवल– पदबाट राजीनामा दिनुभन्दा केही घण्टा अघि मन्त्रिपरिषद बैठक राखेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न निर्णय गरेका छन् ।

Advertisement

मन्त्रिपरिषद बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिलामन्त्री चौधरीले बताए ।

Advertisement

प्रदेश सरकारका प्रवक्ता चौधरीका अनुसार बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन गर्नेदेखि प्रादेशिक अस्पतालका मेसु परिवर्तन गर्नेसम्मका निर्णयसमेत गरेको छ ।

बैठकले आसुलेन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत गरेको छ । सरकाराले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई पदबाट हटाएको छ । खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सरुवा गर्दै डा.ईन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसुमा नियुक्त गर्ने निर्णय गरेको छ ।

गत १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका हुन् । जाँदा जाँदै पोखरेलले आफ्नो स्वार्थअनुसारको निर्णय गरेको भन्दै उनको आलोचना भएको छ ।