October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

सांसद वलीले बन्धक बनाएको भन्दा आश्चर्य लाग्यो : लुम्बिनी सरकार

भैरहवा– लुम्बिनी प्रदेश सरकारले माओवादी केन्द्रकी सांसद विमलाकुमारी खत्री वली मुख्यमन्त्री कार्यालयमा स्वेच्छाले बसेको दावी गरेको छ ।

शुक्रबार प्रदेश सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशसभा सदस्य वली कसैको करकापमा नभई स्वेच्छाले मुख्यमन्त्री निवासमा आएको र ५ दिनसम्म त्यही बसेको दावी गरेका छन् ।

साउन १५ गतेदेखि पार्टीको सम्पर्कविहीन भएकी वलीले विहीवार बुटवलमा पत्रकार सम्मेलन गरि आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको आरोप लगाएकी थिइन् । वलीले आरोप लगाएपछि लुम्बिनी सरकारले विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको हो ।

मन्त्री चौधरीको नामबाट विज्ञप्ती जारी भए पनि सरकारी लेटर प्याड भने प्रयोग गरिएको छैन । लेटर प्याडमा नभएको विज्ञप्ती आज मुख्यमन्त्रीका पे्रेस सल्लाहकार शेरबहादुर केसीले सार्वजनिक गरेका हुन् ।

आफ्नो स्वेच्छाले मुख्यमन्त्री निवासमा वस्ने र त्यहाँबाट हिंड्दाको वखत अपहरण गरी वन्दी वनाई राखेको भनेर मिडियासामु भनेको सुन्दा आश्चर्य लागेको मन्त्री चौधरीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । ‘माननीय विमला वलीलाई कसैले करकापमा पारी ल्याएको पनि होइन र साउन १५ देखि साउन १९ गतेसम्म स्वेच्छाले वस्नु भएको हो’, विज्ञप्तीमा भनिएको छ, ‘बन्धक बनाएको भन्ने निराधार मात्रै हो ।’

एमाले फर्किन दवाव दिँदै मुख्यमन्त्री शंकर पोखरेल निवासमा आफूलाई बन्धक बनाएको र शौचालयका चप्पल लगाएर भागेको सांसद वलीले आरोप लगाएकी थिइन् । सरकारद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल एमाले अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन साउन १५ गते दाङ पुगेको र पत्र बुझिसकेपछि पारिवारिक सल्लाहअनुसार मुख्यमन्त्रीसँग भेट्ने कुरा भएको र सोही दिन विमला आफ्नो दिदी लगायतका आफन्तीसँग मुख्यमन्त्री निवास आउनुभएको हो ।’

मुख्यमन्त्री निवासमा बस्दा भेटघाट, कुराकानी र फोनमा धेरै जनासँग वलीले कुरा गरेको प्रदेश सरकारका प्रवक्ता चौधरीले बताएका छन् । लुम्बिनी सरकार अल्पमतमा परेपछि तत्कालीन नेकपाबाट निर्वाचित वली तानातानमा छिन् । यद्यपि उनले माओवदी रोजी सकेको प्रस्ट्याएकी छन् ।