June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

विमलालाई बन्धक बनाइएको भन्ने कुरामा सत्यता छैन : एमाले

बुटवल– लुम्बिनी प्रदेशको प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीलाई बन्धक बनाइएको भनेर भ्रामक प्रचार भएको एमालेले जनाएको छ । पूर्वाग्रहमा आरोप लगाइएकाले यो कुरामा कुनै सत्यता नभएको एमाले नेताहरुको दावी छ ।

पाँच दिन नेकपा माओवादी केन्द्रबाट सम्पर्कबिहीन भएकी सांसद वलीले आज पत्रकार सम्मेलन गरी मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको जनाएकी थिइन् । त्यसलगत्तै पत्रकार सम्मेलन गर्दै एमालेले वलीको आरोपको खण्डन गरेको हो ।

Advertisement

एमाले लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वलीलाई राजीखुशी अनुसार नै व्यवहार गरेको बताए । ‘एमालेलाई बद्नाम गराउनका लागि बन्धक बनाएको भनेर चर्चा भएको छ । खत्री एमालेमा आउन राजिभएपछि बल्ल दाङबाट यहाँ ल्याइएको हो’, ढकालले भने ।

मुख्यमन्त्रीसँग धेरै कुरा भएपछि वलीले म अब एमालेमै फर्किन्छु भनेको ढकालले दावी गरे । उनले भने ‘उहाँले मुख्यमन्त्रीलाई मेरा मुद्दाको विषय उठाउनुभयो । तपाईं मेरो अभिभावक हो भन्नुभएको थियो ।’

ढकालले प्रदेश सांसद खत्रीलाई राजिखुशी नै दाङबाट बुटवल ल्याएको बताए । ‘उहाँसँग मोबाइल थियो । त्यतीका लामो बाटो थियो । किन सकैलाई फोन गर्नुभएन ?’, उनले भने, ‘दिदीसँग आनन्दले एउटै सिटमा बसेर आउनुभएको थियो । कसरी अपहरण र बन्धक हुन्छ ?’

सचेतक ढकालले बुटवलमा विमलालाई अन्तै बस्ने व्यवस्था गरे पनि उनकै इच्छा अनुसार मुख्यमन्त्री निवासमा राखिएको दाबी गरे । ‘बन्धक होइन, उहाँले यही बस्छु म भनेर नै मुख्यमन्त्री निवासमा राखिएको हो ।’