लुम्बिनी प्रदेशसभाको साउन २७ मा अधिवेशन आह्वान


भैरहवा– लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जनाएको छ ।
साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि अधिवेशन आह्वान गरिएको हो ।
विपक्षीले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए । यसअघि गत वैशाख ६ गते विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरको थिए । उक्त अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।
तर, त्यसै दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिए र फेरि नेकपा एमालेको एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिए । तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले पनि पोखरेललाई एकल बहुमतको मुख्यमन्त्रीको रुपमा नियुक्त गरे । विपक्षी दलहरुले भने त्यतिबेलादेखि नै मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास नभएको भन्ने जिकिर गर्दै आएका थिए ।
उनीहरुले वैशाख २६ गते पुन अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै तत्कालिन प्रदेश प्रमुख यादवसमक्ष निवेदन दिएका थिए । तर यादवले प्रदेशसभाको अधिवेशन बोलाएनन् ।
पत्र हेर्नुहोस्

प्रतिकृया दिनुहोस्