पाण्डेय, लम्साल र यादवको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै


भैरहवा – प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका तीन प्रदेशसभा सदस्यले रिटमा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले साउन १८ गते आफूहरुलाई गैरकानूनी तरिकाले काबाही गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
जसपाले पार्टीबाट कारबाही गरेको जानकारी प्रदेशसभामा पठाएपछि प्रदेशसभा सचिवालयले उनीहरु पदमुक्त भएको सूचना जारी गरेको थियो । त्यतीबेला उनीहरु बहालवला मन्त्रीसमेत थिए ।
रिटमा मंगलबार पेशी तोकिए पनि सुनवाइ हुन सकेको थिएन । आज दोस्रो पटक पेशी तोकिएको छ । तीन जनाको रिट सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा सुनुवाइ हुनेछ ।
पदमुक्त भएका तीन सांसदले उत्पे्रषण र अवहेलनाको छुट्टा–छुट्दै मुद्दा दर्ता गरेका छन् । यस अघि उनीहरुले दायर गरेको रिट अदालतमा विचाराधीन छ । मुद्दा विचाराधिन रहेको अवस्थामा फेरि कारवाही गरिएको भन्दै लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
हालै निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएको थियो । आधिकारिकता पाएपछि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री समेत भएका तीन जनालाई जसपाले कारवाही गरेको हो । प्रदेशसभा सचिवालयले कारवाहीको सूचना जारी गरि पदमुक्त भएको जानकारी गराएपछि तीन जना अदालत गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनीहरु गत बैशाख ६ गते मन्त्री बनेका थिए । मन्त्री बनेपछि उपेन्द्र यादव पक्षले उनीहरुलाई त्यसबेला कारवाही गरेको थियो । कारवाही गरेपछि पदमुक्त भएका उनीहरुहरु अदालत गएका थिए । अदालतले कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्