February 8, 2025, Saturday
२०८१ माघ २७

लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस

भैरहवा- सरकारले लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै, सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् । नेकपा माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले उनलाई गत वैशाख २० गते हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो ।

Advertisement

लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । गण्डकीका प्रदेश प्रमुख नियुक्त भएका गुरुङ चितवनको कांग्रेस नेता हुन् । लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

को हुन् शेरचन ?
बामपन्थी बिचारधारामा निष्ठापूर्वक अडिग रहने थोरैमध्येका व्यक्तित्वमा पर्दछन् अमिक शेरचन । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताएका छन् । उनी वि.सं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका छोराका रुपमा उनको जन्म भएको हो । उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुन् ।

वामपन्थी राजनीतिमा युवावस्थादेखि नै सक्रिय रहँदै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य थिए । शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए, जुनबेला केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई थिए । एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए ।

पछि वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनबाट शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनेका थिए । वि।सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । वि.सं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो ।

माओवादीमा पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टीकोअनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए । वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य पनि थिए ।

यसअघि माओवादीकै सिफारिसमा तत्कालीन केपी शर्मा ओली सरकारले उनलाई गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । तर, केही समयपछि सोही सरकारले उनलाई बर्खास्त गरी सिताकुमारी पौडेललाई गण्डकीको प्रमुखमा नियुक्त गरेको थियो ।