October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

रोहिणी नदीमा लायन्स प्रोफेसनलले छाड्यो चार हजार माछाका भुरा

भैरहवा– लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले रुपन्देहीको रोहिणी नदीमा ४ हजार माछाका भुरा छाडेको छ । पर्यावरण बचाउन सहयोग पुगोस् भन्ने हेतुले भुरा खोलामा छाडिएको क्लबकी अध्यक्ष ऋचा केसीले बताइन् ।

‘क्लवले विगत ५ वर्षदेखि नियमित वृक्षारोपण र माछाका भुरा छाडी पर्यावरण बचाउने कार्य गरेको छ’, सनराइज बैंककी अधिकृत समेत रहेकी क्लबकी अध्यक्ष केसीले भनिन् ।

कृषि उद्यमी समेत रहेका क्लबका प्रथम उपाध्यक्ष अजयकुमार चौधरीले नदीमा माछा खानयोग्य हुँदा खरिद गर्न नसक्ने समुदायले माछा मारेर खान सक्ने बताए । ‘पर्यावरण संरक्ष हुन्छ नै एउटा वर्गको आम्दानीको स्रोत पनि हुन्छ’, उनले भने ।

जथाभावी नदी दोहन हुँदा रुपन्देहीमा जलचर नासिँदै गएका छन् । जलचर जीवजन्तुले पर्यावरणलाई बचाईराख्न मद्दत गर्छन् । क्लबका अर्का उपाध्यक्ष एवं सूचना प्रबिधि विज्ञ विपिनराज रेग्मीले मानिस प्रकृतीसँग जोडिनु अति आवश्यक भएकाले लायन्स क्लव अफ सिद्धार्थनगरले बिगत देखि नै एकै स्थानमा वृक्ष रोपण गर्दै आएको बताए । त्यस अघि क्लबले एक समारोहको आयोजना गरि पर्यावरणमा जलचर प्राणी र वृक्षारोपणको महत्व वारे चर्चा गरेको थियो ।

उक्त समारोहमा प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिब तथा डिस्ट्रिक ३२५ बि २ का डेपुटी सेक्रेटरी विजय पाण्डेले प्रोफेसनलका कार्यहरु देखाउनका लागि मात्र नभई व्यवाहारमा लाभ लिन सकिने खालको भएको बताए । समारोहमा तिलोत्तमा वडा अध्यक्ष दानबहादुर चौधरीले स्थानीय निकायको विकासमा संघ–संस्थाहरुको महत्वको वारेमा चर्चा गरेका थिए ।

कार्यक्रम संयोजक महेश अर्यालले स्वागत, क्लबका सचिब मोहन खनालले संचालनमा भएको कार्यक्रममा क्लबकी सल्लहाकार तिलकुमारी गुरुङ र क्लबका संस्थापक अध्यक्ष अमृतकुमार थापाले कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित स्थानीय दिदीबहिनीहरुलाई मेहँदी, चुरा, टिकी, श्रृगार सामाग्री पनि उपहार प्रदान गरिएको थियो । क्लबले २५ वटा बिभिन्न प्रजातिका बिरुवाहरु वृक्षरोपण गरेको थियो ।