April 22, 2025, Tuesday
२०८२ बैशाख ९

पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

दोस्रोपटक पुनःस्थापित भएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली पनि सत्ताच्युत भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमाले प्रमुख प्रतिपक्षी दल बनेको हो ।

Advertisement

असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनस्र्थापित गर्न परमादेश जारी गरेको थियो ।

आदेश अनुसार संसदको बैठक बस्न लागेको हो । संसदको यहि अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने छन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ ।

विश्वासको मत नपाएको अवस्थामा संसद विघटन भइ देश चुनावमा जाने छ । विश्वासको मत पाएमा भने देउवाले संसदको बाँकी कार्यकाल प्रधानमन्त्रीका रुपमा सत्ता सञ्चालन गर्ने छन् ।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचिअनुसार आइतबारको पहिलो बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । त्यसमा बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने यसअघि नै बताएका छन् । बैठकको कार्यसूचि तय गर्नका लागि आइतबार बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।