April 23, 2025, Wednesday
२०८२ बैशाख १०

संसद पुनःस्थापनाविरुद्ध बुटवलमा प्रदर्शन

बुटवल– प्रतिनिधिसभा पुनःस्थापना भएको विरोधमा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा प्रदर्शन भएको छ । सोमबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ ।

यसको विरोधमा एमाले अध्यक्ष केपी शर्मा ओली समर्थकले बुटवलमा प्रदर्शन गरेका हुन् । सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहामा युवा संघ र अनेरास्ववियूको अगुवाईमा विरोध प्रदर्शन भएको हो ।

Advertisement

प्रदर्शनमा युवा संघ र अनेरास्ववियूका नेताकार्यकर्ताले ‘गैरसंवैधानिक आदेश खारेज गर’ भन्ने लेखिएको व्यानरसहित उपस्थित भएका थिए । परमादेश खारेजीको माग गर्दै उनीहरुले संविधान रक्षाको माग पनि गरेका छन् ।

युवा संघ जिल्ला संयोजक मनोज गौचनले सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा आन्दोलन थालेको बताए । युवा संघले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको पनि विरोध गरेको छ ।

अदालतले गरेको फैसलाले बहुदलीय शासन व्यवस्था समाप्त पार्न खोजेको पनि उनीहरुको आरोप छ । युवा–विद्यार्थीकोे प्रदर्शनपछि बुटवलमा बाक्लो प्रहरी परिचालन गरिएको छ ।