March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनी वाणिज्य क्याम्पसमा पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व

बुटवल- लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको संचालक समिति अध्यक्षमा पुनः मोतिलाल पाण्डे सर्वसम्मत् चयन भएका छन् । शनिबार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषदको एघारौं क्याम्पस सभाले आगामी तीन वर्षका लागि पाण्डेको नेतृत्वमा नयाँ संचालक समिति निर्वाचित गरेको हो ।

Advertisement

संचाललक समितिको निर्वाचित चारजना सदस्यहरुमा पूर्व क्याम्पस प्रमुख डा.ईश्वर गौतम, कृष्णप्रसाद गौतम, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा अभिभावक संघका उपाध्यक्ष भगवती पाण्डे छन् ।

Advertisement

क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय पदेन सदस्य सचिव रहने १३ सदस्यीय क्याम्पस संचालक समितिमा बाँकी सदस्यहरु भने पदेन रहने प्रावधान छ । जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिबाट बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपाने, संस्थापक क्याम्पस प्रमुख महेश्वरप्रसाद श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष द्वारिका गौतम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजू, क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद ओझा छन् ।

यसअघि क्याम्पस सभामा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै शैक्षिक धरोहर रहेको उल्लेख गरे । क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

२०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक रुपमा कोचिङ कक्षाको रुपमा संचालन गरिएकामा लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि ४० वर्षको अवधिमा आइपुग्दा व्यवस्थापनतर्फ देशकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको छ ।

२०६८ साल र २०७५ सालमा दुईपटक क्यूएए प्राप्त यस क्याम्पसमा हाल सेमेष्टर प्रणाली अन्तर्गतका बीबीएम, तथा स्वायत्त कार्यक्रम अन्तर्गत बीबीए एफ ए, बीबीएम एप्लाईड, बीएमएस, एमबीएस फाइनान्स तथा एमबीए बीएफका कक्षाहरु संचालन भइरहेका छन् । स्थायी, आंशिक र करार गरि ७१ जना प्राध्यापक तथा कर्मचारी कार्यरत छन् ।

यस क्याम्पसमा सबै कार्यक्रमतर्फ हाल ४ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले जानकारी थिए ।