ज्यान जोगाउन ताजकिस्तान बिस्थापित भए एक हजार अफगान सैनिक


तालिबान बिद्रोहीसँगको भिडन्तपछि अफगानिस्तानका एक हजार भन्दा बढि सैनिक छिमेकी देश ताजकिस्तानमा बिस्तापित भएका छन् ।
सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा सैनिकहरु ताजकिस्तान गएको अधिकारीहरुले जानकारी दिएका हुन् ।
आफ्नो ज्यान जोगाउनका लागि बाध्य भएर अफगान सैनिकहरु आफ्नो देश प्रवेश गरेको सीमा सुरक्षाका लागि खटिएका ताजकिस्तानको सुरक्षा बलले जनाएको छ ।
पछिल्ला महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् । तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरु बिस्तार गर्दै लगेको छ । विशेष गरि देशको उत्तरी क्षेत्रमा पछिल्ला हप्ताहरुमा तालिबान बिद्रोही बलियो देखिएको छ ।
अमेरिका, बेलायतसहित नेटो सैनिकहरुले अफगानिस्तान छोड्न थालेसँगै तालिबानको गतिविधि सघन बनेको हो । २० वर्षको युद्धपछि अमेरिका तथा नेटो सैनिकको अन्तिम समूह फिर्ता हुने क्रममा छ । आउँदो सेप्टेम्बर ११ सम्म अमेरिकी सैनिकको फिर्ती प्रक्रिया पूरा हुने छ ।
विदेशी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा पुनः हिंसाको अवस्था आउने भन्दै चासो र चिन्ता व्यक्त भइरहेका बेला तालिबानबाट ज्यान जोगाउन अफगान सैनिक छिमेकी देशको शरणमा पुगेका हुन् ।

यसैबिच सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ ।
काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् ।
विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ । तर यसले अफगानिस्तानको शान्ति सुरक्षालाई लिएर चासो भने बढ्दै गएको छ ।
प्रतिकृया दिनुहोस्