March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन

बुटवल – लायन्स आँखा अस्पताल बुटवलमा अक्सिजन बैंक संचालनमा ल्याइएको छ । कोरोना भाइरस महामारीको दोस्रो संक्रमण बढेसंगै संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेकाले फेरि त्यस्तो परिस्थिति व्यहोर्नु नपरोस भनेर अस्पतालमा अक्सिजन बैंक सञ्चालन गरिएको हो ।

Advertisement

कोभिड–१९ को दोस्रो भेरियन्ट क्रमशः घट्दै गए पनि सम्भावित तेस्रो भेरियन्टको सम्भावित जोखम बहन गर्न सहज होस भन्ने उद्देश्यले सञ्चालन गरिएको अक्सिजन बैंकको लागि नेपालकै प्रतिष्ठित कम्पनी ‘जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज’ले समेत ३ लाख २५ हजार रुपैंया आर्थिक सहयोग गरेको अस्पताल सञ्चालन गरेको लायन्स क्लव अफ बुटवलले जनाएको छ ।

Advertisement

कोरोना महामारीकै बिचमा उक्त क्लवले लायन्स इन्टरनेशनल क्षेत्र घ र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको अक्सिजन बैंकमा अक्सिजन सहयोग गरेको थियो भने अस्पतालमा भर्ना भएर अक्सिजन नपाएका बिरामीको लागि समेत अक्सिजन आपूर्तिको लागि मध्यस्थता गरिएको क्लवका अध्यक्ष संजय कलवार जयसवालले जानकारी दिए ।

हालैमात्रै स्थापना गरिएको उक्त अक्सिजन बैंकमा कम्तिमा एक सय सिलिण्डर अक्सिजन पुर्याउने लक्ष्य लिइएको छ । जसको लागि लायन्स, लायनेश र लियो क्लव अफ बुटवलले नेतृत्व गरेका छन् ।

त्यस अवसरमा क्लवले दुई जना महिलालाई महिला उद्यमशिलता प्रवद्र्धनको लागि जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ । गणेशमान सैंजु समृद्धिको लागि उद्यमशिलता कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं. २ की सविता जिसी र बुटवल १ की विद्यालक्ष्मी शाक्यलाई अक्षयकोषबाट उक्त रकम प्रदान गरिएको हो । क्लवले विगत ५ वर्षदेखि उनीहरुलाई वार्षिक २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

त्यस्तैगरी बृजनयन महिला अक्षयकोष कार्यक्रम अन्तरगत गरिव तथा विपन्न महिलाको मोतियाविन्दु शल्यक्रियाको लागि १० हजार रुपैयाँ प्रदान गरिएको छ । अक्षय कोषमा रहेको रकमको आउने व्याज गरिव तथा विपन्न महिलाको मोतिया विन्दु शल्यक्रियाको लागि लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण
लायन्स क्लव अफ बुटवलमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बुधबार क्लवमा एक कार्यक्रमको आयोजना गरि वर्ष २०२०/०२१ का अध्यक्ष संजय कलवार जयसवालले वर्ष ०२१/०२२ को लागि नवनिर्वाचित अध्यक्ष लोकप्रसाद खरेललाई पद हस्तान्तरण गरेका छन् ।

त्यस अवसमा बोल्दै लायन्स क्लवका भाईस गभर्नर नवराज न्यौपानेले लायन्स क्लव अफ बुटवलको कृयाकलापले लायन्स ईन्टरनेशनलकै शाख बढाएको बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले क्लवका पुराना कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै दुर्गममा हाम्रो गाउँ, प्रभावकारी स्वास्थ्य शिबिर सहितका कार्यक्रम सञ्चालन जानकारी दिए ।

त्यस्तै अध्यक्ष जयसवालले कोभिड महामारीको कारण भौतिक उपस्थितिमा प्रयाप्त कार्यक्रम गर्न नसकिए पनि गरेका कार्यक्रम प्रभावकारी भएको बताए । कोरोना भाईरस महामारीका कारण सञ्चालन गर्न नसकिएका कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिन समेत उनले आग्रह गरे ।