March 18, 2025, Tuesday
२०८१ चैत्र ५

प्रचण्ड गर्मीले क्यानडामा ६९ को मृत्यु, अमेरिकामा पनि जनजीवन प्रभावित

क्यानडामा प्रचण्ड गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढ्दो क्रममा छ ।

ब्रिटिस कोलम्बियाको प्रहरीले ६९ जनाको अप्रत्यासित रुपमा निधन भएको र अधिकांश पाको उमेरका रहेको जनाएको छ । ती मृत्युहरुमा प्रचण्ड गर्मी तथा तातो हावा कारक रहेको प्रहरीले बताएको छ ।

Advertisement

मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी तहमा पुग्यो । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको हो । यो हप्ता पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री भन्दा माथि पुगेको थिएन ।

जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको भन्दै स्थानीय प्रशासनले स्थानीय बासिन्दासँग आफूसँगै छिमेकीका बारेमा पनि ख्याल गर्न आग्रह गरेका छन् ।

अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने चेतावनी इन्भाइरोमेन्ट क्यानडाले दिएको छ।

यसैबिच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० मा तथ्यांक राख्न थालिए यताकै उच्च पुगेको छ ।

ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ डिग्री सेल्सियस र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको हो ।

स्थानीय बासिन्दाले गर्मीका कारण आफूहरु मरुभूमिमा रहे जस्तै लागेको समाचार संस्था एएफपीसँग बताएका छन् । अझै केही दिन तापक्रम उच्च रहने भन्दै सचेत रहन आग्रह गरिएको छ ।असार १६, २०७८ मा प्रकाशित