कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार


कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । राष्ट्रपति इभान दुकेसहितलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो ।
उत्तरी प्रान्त सान्तान्देरको कुकुता तर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए ।
राष्ट्रपतिका प्रवक्ताले घटनामा कसैलाई पनि केही नभएको बताएका छन् ।
राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन् । हिंसा वा आंतकवादका कुनै पनि गतिविधिले आफू विचलित नहुने र नडराउने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘हाम्रा राज्य र कोलम्बिया यस्तो चुनौति र खतराको सामना गर्न सक्षम छन्’, उनले ट्वीटरमा पोस्ट गरेको भिडियो सन्देशमा उल्लेख छ ।
आक्रमणमा संलग्नहरुको खोजी गर्न सुरक्षा निकायलाई आदेश दिइएको उनले बताएका छन् । गोली लागेर हेलिकप्टरमा प्वाल परेको छ ।
आक्रमणको जिम्ममा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । तर वामपन्थी नेशनल लिबरेसन आर्मी (इएलएन) ले कोलम्बिया–भेनेजुएला सीमा क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।
सन् १९६४ मा जमिन र सम्पत्तिको असमान वितरण विरुद्ध लड्न भन्दै एएलएनको स्थापना भएको हो । यो कोलम्बियाको सबैभन्दा ठूलो बिद्रोही समूह हो र यसलाई कोलम्बिया, अमेरिका र युरोपियन युनियनले आतंकवादी समूहका रुपमा लिने गरेका छन् ।
यो महिनाको सुरुमा कुकुताको सैनिक बेसक्याम्पमा कार बम आक्रमण भएको थियो र इएलएनले जिम्मेवारी लिन अस्वीकार गरेको थियो । सो घटनामा ३६ जना घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस्