April 18, 2025, Friday
२०८२ बैशाख ५

थाई मोनाष्ट्रीद्वारा सहयोग

लुम्बिनी– थाई जनताले पठाएको उपकरण र स्वास्थ्य सहयोग सामग्री लुम्बिनीमा रहेको रोयल थाई मोनाष्ट्रीले वितरण गरेको छ । बुद्धस्थल लुम्बिनी आसपासका अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गरिएको हो ।

सहयोग लिएर मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा बोधीविड्स रुपन्देहीको बुटवल र लुम्बिनी तथा कपिलवस्तुको जीतपुर पुगेका थिए । जीतपुरस्थित कपिलवस्तु सामुदायिक अस्पताललाई सात र पाँच लिटरका दुई–दुई वटा अक्सिजन कन्सन्ट्रेटर, छ सय थान सर्जिकल मास्क, ५० जोडी सर्जिकल ग्लोब्स र ५ लिटरका तीन ग्यालेन सेनीटाईजर पनि प्रदान गरिएको छ ।

Advertisement

दुई वटा अक्सिमिटर र १० वटा पीपीई प्रदान गरिएको छ । त्यस्तै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई सात–सात लिटरका दुई वटा अक्सिजन कन्सन्ट्रेटर, छ सय थान सर्जिकल मास्क र ५ लिटरको तीन ग्यालेन सेनिटाइजर पनि प्रदान गरिएको छ ।

त्यस्तै लुम्बिनीस्थित लंकपुरमा रहेको स्वास्थ्य चौकीलाई १५ वटा पीपीइ, छ सय थान सर्जिकल मास्क र ५ लिटरका दुई ग्यालेन सेनिटाइजर पनि प्रदान गरिएको छ । संक्रमणबाट पार पाउन थाई जनताको सहयोगले आफूहरु निक्कै उत्साहित भएको लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीले बताए ।

कोषकै सल्लाह र सुझावमा मोनाष्ट्रीले स्वास्थ्य संस्थामा सहयोग गरेर राम्रो काम गरिरहेको उनले बताए । माहामारीबाट प्रभावित नेपाली जनतालाई थाई राजा र जनताका तर्फबाट स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेर थोरै भए पनि कठिन पीडाका समयमा मलहम लगाउन पाएकामा आफूहरु खुसी भएको मोनाष्ट्री प्रमुख भिक्षु बोधीविड्सले बताए । थाई मोनाष्ट्रीले यसअघि भीम अस्पतालमा पनि सहयोग गरेको थियो ।