April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

रोल्पाका १० वटै पालिकामा पुन दम्पतिद्वारा स्वास्थ्य सामग्री वितरण

रोल्पा – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त दम्पत्तिले गृह जिल्ला रोल्पामा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा उपयोगी स्वास्थ्य सामग्री वितरण गरेका छन्।

Advertisement

जिल्ला अस्पतालसहित स्थानीय तह मातहतका सबै स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीका लागि पुन र उनकी धर्मपत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाएका हुन्।

Advertisement

स्वास्थ्य सामग्री वतरणका लागि पुन र घर्ती रोल्पा नगरपालिकासहित जिल्लाका सबै गाउँपालिका पुगेका थिए। जिल्ला अस्पताल र सुरक्षाकर्मीका प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पुनको सचिवालयले जनाएको छ।

वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ब्याग, एन–१९ मास्क, सर्जिकल मास्क, इन्टिजन किट, पिपिई लगायत छन्। नेता पुनले अहिले कोभिड–१९ महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने भन्दै स्वास्थ्य मापदण्डको पालना गरि आफू, परिवार र समुदायलाई सुरक्षित राख्न आग्रह गरे।

वर्तमान केपी ओली नेतृत्वको सरकार कोभिड–१९ महामारी नियन्त्रणमा पूर्णतः असफल भएको भन्दै उनले महामारीको अनुचित फाइदा उठाउँदै सरकारमा भएकाहरु कमाउ धन्दामा लागेको टिप्पणी गरे।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका लागि ओली र उनको समूहले कहिल्यै माफी नपाउने पुनको भनाइ छ। पुनले जनस्वास्थ्यसँग सम्बन्धित विषयमा राजनीति नगर्न पनि आग्रह गरे। जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको हैसियतमा महामारीको सुरुवाति चरणदेखि नै समस्यामा परेका जिल्लाबासीको उद्धार र जीवन रक्षाका लागि प्रयास गर्दै आएको भन्दै उनले केपी ओलीनिकट केही व्यक्तिले स्वास्थ्य सामग्री वितरण गरिएको विषयमा राजनीति गर्न खोजेको टिप्पणी गरे।

सरकारले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि सिन्को नभाँचेको भन्दै पुनले जनप्रतिनिधिले आफ्नो दायित्व निर्वाह गर्दा आपत्ति जनाउनुपर्ने कारण नरहेको उल्लेख गरे।

‘आफू पनि सिन्को नभाँच्ने, अरुले गरेको पनि देख्न नसक्नेहरुलाई मेरो भन्नु केही छैन’, पुनले भने। स्वास्थ्य सामग्री प्राप्त भएपछि कोभिड–१९ विरुद्धको लडाईं लड्न आफूहरुको मनोबल उच्च भएको सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए।