April 23, 2025, Wednesday
२०८२ बैशाख १०

तीन पालिकालाई रेडक्रस र युनिसेफद्वारा स्वास्थ्य सामाग्री सहयोग

भैरहवा– नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

रेडक्रसले लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेसन सेन्टरहरुमा आवश्यक स्वास्थ्य सामाग्री बिहीबार हस्तान्तरण गरेको हो । सिद्धार्थनगर प्रमुख हरिप्रसाद अधिकारी, लुम्बिनीका प्रमुख मनमोहन चौधरी र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ललाई उक्त सामाग्री हस्तान्तरण गरेको रेडक्रस रुपन्देही अध्यक्ष प्रेसलाल उदासले बताए ।

Advertisement

रेडक्रसले यी तहलाई खानेपानी ट्यांकी, ह्याण्ड वासिङ स्टेशन, माक्स, सेनिटाइजर, हर्पिक, फिनेल, साबुन, युरिगार्ड, पानी फिल्टर जग, सेनिटाइजर इन्सुरेन्सी लगायत स्वास्थ्य सम्बन्धी सामाग्री हस्तान्तरण गरेको हो । प्रत्येक स्थानीय तहलाई एक लाख ८० हजारदेखि दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष उदासले जानकारी दिए ।

रेडक्रसले जेठ एक गतेदेखि स्वयंसेवक परिचालन गरी रुपन्देहीको बेलहिया नाकाबाट आउनेजाने यात्रुलाई समेत निःशुल्क खानेपानी वितरण गर्दै आइरहेको रेडक्रस, रुपन्देही जिल्ला शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले बताए ।

रेडक्रसले भारतबाट घर फर्किने नेपालीहरु संक्रमित भएको खण्डमा उनीहरुलाई घरसम्मै निःशुल्क पुर्याउँदै समेत आएको छ । सभापति उदासले भने, ‘हामीले नेपाल आउने तर संक्रमित नभएका यात्रुहरुलाई पनि आर्थिक अभाव भएको पाइए घरसम्मै पुर्याउने गरेका छौं ।’

रेडक्रसका उपसभापति न्यौपानेले स्थानीय तहलाई उपलब्ध गराएको सामाग्री भरपूर्णरुपमा सदुपयोग गर्न आग्रह गरे । उनले भने, ‘यो सामाग्री बढीभन्दा बढी उपयोग गर्नुहोला । यसले कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’ विपद्का बेला स्थानीय तहहरुमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन रेडक्रसले युनिसेफसँग सहकार्य गरी सहयोग उपलब्ध गराएको जनाएको छ ।

सम्मरीमाईका अध्यक्ष शुक्लले ढिलै भए पनि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको भन्दै यसले पालिकामा महामारी नियन्त्रण गर्न सहयोग पुग्ने जनाए । उनले आगामी दिनमा पनि पालिकासँग सहकार्य गर्न रेडक्रसलाई आग्रह गरे । उक्त कार्यक्रममा पूर्व कर्मचारी महेश्वर गौतम, रेडक्रसका सुपरभाइजर विनोद थापा, मर्चवार उपशाखा सभापति निरन्जन पाठक लगायतको उपस्थिति थियो ।