March 22, 2025, Saturday
२०८१ चैत्र १०

खाली हुँदै आइसोलेसन

भैरहवा– कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि बाँकेमा निर्माण गरिएका आइसोलेसन खाली हुन थालेका छन् । जिल्लामा २२ वटा अस्पताल, आइसोलेसन सेन्टरमध्येमा नौ वटा खाली भएका छन् । नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजदेखि कोभिडका लागि स्पेसल वार्ड सञ्चालन गरेका केही अस्पताल र गाउँपालिकाले सञ्चालन गरेको अस्पताल वा आइसोलेसन सेन्टरमा खाली भएका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेजका ३० वटै बेड खाली भएको छ । कोहलपुर मेडिकल कलेजमा छुट्याइएको सयमध्ये २७ बेड खाली छ । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको इन्द्रेणी होटल आइसोलेसन केन्द्र खाली भएको छ ।

Advertisement

वडा नं. ४ को आइसोलेसन सेन्टर, वडा नं. १२ को आइसोलेसन सेन्टर खाली भएका छन् । कोहलपुरको कृषि विकास तालिम केन्द्र, पिपिरीको आइसोलेसन केन्द्र, बैजनाथको प्राकृतिक स्वास्थ्य केन्द्र, वनकटवा खाली भएको छ । राप्तीसोनारीको सहिद पार्क भवन र सेल्टर हाउस खाली भएको छ ।

नरैनापुरको नेराप्रावि मोतीपुर आइसोलेसन केन्द्र खाली भएको छ । भेरी अस्पतालमा एक सय २४, कोहलपुर मेडिकल कलेजमा ७३ जनासहित १३ वटा अस्पताल तथा आइसोलेसन केन्द्रमा २ सय ३५ जना बिरामी छन् । नेपालगन्ज र कोहलपुरको अस्पतालसहित गाउँपालिकाले सञ्चालन गरेको कोभिड वार्ड एवं आइसोलेसन सेन्टरमा ८ सय ४६ बेड थिए ।

सहरका ठूला अस्पतालदेखि गाउँमा सञ्चालन गरिएका कोभिड वार्ड र आइसोलेसन सेन्टर खाली हँुदै जानुले संक्रमण दर घटेको देखिएको छ । कोभिड फोकल पर्सन वलीले अहिले बाँकेमा ३ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेको सुनाए ।
नेपालगन्ज उपमहानगरपालिकामा ७९, कोहलपुर नगरपालिकामा एक सय २८, बैजनाथ गाउँपालिकामा २९, खजुरा गाउँपालिकामा ३०, जानकी गाउँपालिकामा ९, डुडुवा गाउँपालिकामा ६२, राप्तीसोनारी गाउँपालिकामा ४७ र नरैनापुर गाउँपालिकामा २ जना संक्रमित होम आइसोलेसनमा छन् ।

यहँका अस्पतालमा नयाँ थपिएका भन्दा पनि लामो समयदेखि उपचारमा रहेका वा बाहिरी जिल्लाबाट सिकिस्त भइसकेपछि ल्याइएकाहरूको मृत्यु भइरहेको देखिएको छ । बाँकेका चार वटा अस्पतालमा कोभिडका लागि छुट्याइएको ३ सय ६१ मध्येमा १ सय १९ बेड खाली भएका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टर बनेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेजदेखि कोभिडका लागि स्पेशल सेवा दिएका थप दुई अस्पतालको बेड खाली भएको हो । कोभिडको बिरामी व्यवस्थापनमा खटिएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भेरी, मेडिकल कलेज, वेष्टर्न र युनाइटेडमा कोभिडका लागि ३ सय ६१ बेड छुट्याइएकोमा एक सय १९ बेड खाली रहेको बताए ।