January 23, 2025, Thursday
२०८१ माघ १०

अहिले स्वास्थ्य क्षेत्र बलियो बनाउने अवसर छ : मन्त्री श्रेष्ठ

गुल्मी– लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले गुल्मी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । उनी अस्पतालहरूको अनुगमन, निरीक्षण पछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भएका थिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजित बैठकमा मन्त्री श्रेष्ठले अब आउन लागेको प्रदेश सरकारको नीति तथा कार्यक्रममा अस्पतालहरुको स्तरोन्नतिका साथै दक्ष जनशक्ति पहिलो प्राथमिकता रहेको बताए । ‘त्यसैगरी बजेट सोही अनुरूप आउने छ’, उनले भने, ‘अहिले बाटो र पुल निर्माण गर्नु मात्र बिकास होइन, जनताको स्वास्थ्य उपचार प्रमुख हो भन्ने सबैले महसुस गरेका छन् तसर्थ प्रदेश सरकारले जस्तै स्थानीय सरकारले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न अनुरोध गर्दछु ।’

Advertisement

उनले अस्पतालमा उपलब्ध बजेट छिटोछरितो तरिकाले प्रयोग गरेर स्वास्थ्य सामाग्री जुटाउन अनुरोध गरे । ‘कोभिड नियन्त्रण गर्नुपर्ने चुनौति त छँदैछ, यो समय स्वास्थ्य संरचना निर्माण गर्ने, स्वास्थ्य क्षेत्र बलियो बनाउने अवसर पनि हो’, उनले भने । मन्त्री श्रेष्ठले संकटको घडीमा अक्सिजन प्लान्ट निर्माणार्थ पत्रकार महासंघ गुल्मीको आह्वानमा ६० लाख भन्दा बढी रकम उठाउन हातमा हात मिलाउने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

श्रेष्ठले बिरामीको स्वास्थ्य उपचार चिकित्सक तथा स्वास्थ्यकर्मीले गरे पनि मनोवैज्ञानिक उपचार जान्ने बुझ्ने सबै वर्गले गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याको सक्रिय भूमिकाका कारण अहिलेसम्म अन्य जिल्लामा जस्तो स्वास्थ्य संकट नआएको बैठकमा सहभागीहरुले बताए ।

रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसाले जिल्लामा पीसीआर मेसिन सञ्चालनका दौरानमा कर्मचारी व्यवस्थापन गर्न आर्थिक रूपमा अप्ठ्यारो परेको गुनासो गरे । उनले मन्त्री श्रेष्ठलाई गुल्मी र अर्घाखाँची जिल्लालाई पायक पर्ने गरि यहाँको मेसिन सञ्चालनमा ल्याउन आग्रह गरे । ‘जसको खर्च व्यवस्थापन गर्न हरेक पालिकाले प्राथमिकतामा राख्न अनुरोध गर्छु । संघीय र प्रदेश सरकारले थप सहयोग गरोस्’, उनले भने ।

लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ र खड्क केसीले कोरोना नियन्त्रणमा आफ्नो तर्फबाट गरेको समन्वयको बारेमा बैठकमा बताए । बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भवानी शर्माले जिल्लाको कोरोना विशेष स्वास्थ्य उपचार र जिल्लाको स्वास्थ्य सम्बन्धि अवस्थाको बारेमा जानकारी गराएका थिए । गुल्मी अस्पतालकी नर्सिङ इन्चार्ज सीता कार्कीले अस्पतालमा नर्सिङ स्टाफको कमि भएका कारण कोभिड नियन्त्रणमा खटिएका नर्सहरू अन्य उपचारमा पनि खट्नु परेको बताइन् ।

मन्त्रीसँगै गुल्मी पुगेका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर रोशनलाल चौधरीले प्रदेश सरकार अन्तर्गत रहेको गुल्मी अस्पतालको चौतर्फी सुदृढीकरणका लागि तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गरे । मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावी योजनाहरुको बारेमा जानकारी दिए । बैठकमा विभिन्न राजनीति दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा निजी क्षेत्रका अगुवाले आआफ्नो धारणा राखेका थिए ।