October 15, 2024, Tuesday
२०८१ आश्विन २९

थाई बिहारद्वारा भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

भैरहवा– लुम्बिनीस्थित राजकीय थाई बिहारले भैरहवामा रहेको भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । बिहारले सोमबार अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर, दुई थान अक्सिमिटर, ६ सय थान सर्जिकल मास्क, ५० जोडा सर्जिकल ग्लोब्स, तीन ग्यालेन सेनिटाइजर र पिउने पानी (मिनरल वाटर) ५० कार्टुन हस्तान्तरण गरेको हो ।

उक्त सहयोग लुम्बिनी स्वर्ण फाउण्डेशनको सहयोगमा विहारले अस्पताललाई उपलब्ध गराएको जनाएको छ । बिहारका प्रमुख भिक्षु सुपोत किन्नवत्तीले भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा.शकुन्तला गुप्तालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले महामारीको विषम परिस्थितिमा स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको उपचारमा सहजीकरण गरेको भन्दै धन्यवाद व्यक्त गरे । बिहार प्रमुख किन्नवत्तीले सबैलाई स्वास्थ्य उपचारमा सहयोग होस् भनेर आफूहरुले सहयोगमार्फत् अस्पतालसँग हातेमालो गर्ने प्रयास गरेको बताए । यसअघि पनि बिहारले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।