May 12, 2025, Monday
२०८२ बैशाख २९

फासोको गाउँमा बिद्रोही आक्रमण, कम्तीमा १३२ जनाको मृत्यु

सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको ज्यान गएको छ । बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो ।

सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनी समेत भएको छ ।अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेष गरि सीमा क्षेत्रहरुमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।

Advertisement

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाले आफूलाई आक्रोशित बनाएको बताएका छन् । उनले घटनाको गम्भीर निन्दा गरेका छन् ।

बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् । दानबी शक्ति विरुद्ध सबै एक हुनु पर्ने पनि उनले उल्लेख गरेका छन् ।

शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको छ । गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

बुर्किना फासोमा अहिले गम्भीर सुरक्षा चुनौतिको अवस्था छ । गएको मे मा आर्मीले विद्रोही विरुद्ध बिस्तारित तहको प्रतिकारात्मक कारवाही सुरु गरे पनि हिंसा रोक्न भने सकेका छैनन् ।