June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

यस वर्ष मनसुन खतरायुक्त हुनसक्ने आँकलन

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ।

Advertisement

प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग व्याधिले धेरैलाई असर गर्नसक्ने बताए।

उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए। अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने उनको भनाइ छ।

उनले भने, ‘पोहोरभन्दा यसपाली झन् गाह्रो अवस्था आइपुगेको छ। पोहोर सरदर वर्षा हुँदा अकल्पनिय क्षति बेहोर्नु पर्‍यो। यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानी पर्ने देखिएको छ। बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौँ।’

डा. पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपतबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए।

जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ। जोखिमका वस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ। सर–सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी सुरु गरौँ।’

उनले विपतबाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफूहरुले प्रेषित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे।