भेरी अस्पतालमा खटाइयो २५ जना प्रहरी


नेपालगञ्ज– बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा २५ जना प्रहरी परिचालन गरिएको छ। डाक्टर र नर्समाथि पटक–पटक आक्रमण भइरहेपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी अस्पतालमा परिचालन गरिएको बताए। उनले भने, ‘२५ जना प्रहरीले तल ग्राउण्डदेखि आइसीयू बेडसम्मको सुरक्षा गर्ने व्यवस्था मिलाएका छौँ।’
दाङका कोरोना संक्रमित डिल्ली रावतको मृत्युपछि उनका आफन्तले ड्यूटीमा खटिएका डाक्टर र नर्सलाई लखेटीलखेटी घाटी थिचेपछि अस्पतालको सुरक्षाप्रति औला उठाइएको छ।
भेरीमा डाक्टर र नर्समाथि आक्रमण भएको यो पहिलो घटना भने होइन। दोस्रो लहरको कोरोना कहरका बीचमा आधा दर्जन पटक डाक्टर र नर्समाथि हातपात भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालमा हवल्दारको कमाण्डमा सधैं प्रहरी रहने गर्दछ। सानो संख्यामा रहने भएकाले त्यसले अस्पतालको सुरक्षा गर्न सक्दैन। त्योसँगै सेक्युरिटी गार्ड पनि राखिएको छ,तर बाहिरी घेरामै सीमित रहन्छ।
बाँके प्रहरीले तत्कालका लागि २५ जना प्रहरी खटाएको छ। अस्पतालमा सधैं यत्तिको ठूलो फौज प्रहरीको आवश्यकता नभए पनि आधा दर्जन प्रहरी सधैं राख्ने बारेमा छलफल चलेको छ।
प्रमुख जिल्ला अधिकारी गेलालले सधैं २५ जना प्रहरी अस्पतालमा आवश्यकता नपर्ने भए पनि पछि समेत अलिकति सुरक्षा बढाइने बताए।
भेरीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउँछन्। अस्पतालमा विरामी र कुरुवाको चाप रहने गर्दछ। पटक–पटक डाक्टर र नर्समाथि आक्रमण हुन थालेपछि कुरुवालाई पासको व्यवस्था गरिएको छ।
एकजना विरामीको एकजना कुरुवामात्रै वार्डमा जान दिने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्