रास्वपाले खोल्यो नगरपालिकाका लागि उम्मेदवार हुने आवेदन



भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन खुला गरिएको हो ।
बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले भनेको छ, ‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ । यदि तपाईँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला ।’
आवेदन पार्टीको मोबाइल एप मार्फत दिन सकिने व्यवस्था गरिएको छ । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो ।
रास्वपाबाट उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट हुने प्रक्रिया सुरु हुन्छ । यसबारे जानकारी दिँदै रास्वपा महामन्त्री विपिनकुमार आचार्यले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘यो नगरको माटोमा अपार सम्भावना छ तर यो नगरलाई अब अरूले बनाइदिन्छन् भनेर पर्खिने धैर्यता ममा छैन। गुनासो गर्ने भिडबाट निस्केर, आफैँ मैदानमा उत्रिएर काम गर्ने हुटहुटीले अचेल मलाई निदाउनै दिँदैन। इमान्दारिता, क्षमता र स्पष्ट योजनाका साथ मेरै पालामा यो नगरको काँचुली फेर्नका लागि मात्र एउटा मौका चाहिएको छ। तपाईं पनि यस्तै केही सोच्दै हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट आवेदन खुला गरेको नगरपालिका क्यान्डिडेट क्लब तपाईंले देखेको सपनाको पहिलो प्रस्थान बिन्दु हुन सक्छ।’
पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखाअन्तर्गत रहेर खोलिएको यस नगरपालिका क्यान्डिडेट क्लबले देशभरका २७६ नगरपालिकाका लागि २७६ प्रमुख (मेयर), २७६ उपप्रमुख (उपमेयर), ३,११९ वडाध्यक्ष र १२,४७६ वडा सदस्य गरी कुल १६,१४७ जनप्रतिनिधिका लागि पार्टीको आधिकारिक उम्मेदवार छनोट गर्ने प्रक्रिया सुरु गर्ने उनले बताएका छन् ।








प्रतिकृया दिनुहोस्