September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

तीन वर्षमा सिद्धार्थनगरका २३४ जनाले लिए उपचार सिफारिस

Advertisement

भैरहवा–सिद्धार्थनगर नगरपालिका क्षेत्रका २३४ जना विपन्न नागरिकले पछिल्लो तीन आर्थिक वर्षमा सरकारले प्रदान गर्ने विपन्न नागरिक उपचार सेवाका लागि नगरपालिकाबाट सिफारिस लिएका छन् ।

Advertisement

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०–८१ मा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचारका लागि ४७ जनाले सिफारिस लिएका थिए । आर्थिक वर्ष २०८१–८२ मा सिफारिस लिनेको संख्या बढेर ९९ पुगेको थियो भने आर्थिक वर्ष २०८२–८३ मा ८८ जनाले सिफारिस लिएका छन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार सरकारले मुटु, मिर्गौला, क्यान्सर, टाउको तथा मेरुदण्डसम्बन्धी समस्या, सिकलसेल एनिमिया, अल्जाइमर्स र पार्किन्सन्स रोगको उपचारका लागि विपन्न नागरिक उपचार सेवा सञ्चालन गर्दै आएको बताए । उनका अनुसार, सम्बन्धित पालिकाको सिफारिसका आधारमा सरकारले तोकेका अस्पतालबाट उपचार सेवा उपलब्ध गराइन्छ । पालिकाको सिफारिसका आधारमा संघीय सरकारले १ लाख रुपैयाँसम्म र लुम्बिनी प्रदेश सरकारले थप २ लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराउने व्यवस्था छ ।

‘उपचार सेवाका लागि सिफारिस लिन बिरामीले सरकारले मान्यता दिएको अस्पतालबाट सम्बन्धित रोगको प्रमाणित कागजात पेस गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘प्रमाणित कागजातका आधारमा सम्बन्धित बिरामीलाई तोकिएको अस्पतालमा उल्लेखित रकम बराबरको उपचार सेवा लिन मिल्ने गरी सिफारिस दिने गरिन्छ ।’ सिफारिस गरिएको अस्पतालमा बिरामीलाई आवश्यक उपचार सेवा उपलब्ध नभएमा सम्बन्धित अस्पतालको सिफारिसमा अन्य मान्यता प्राप्त अस्पतालमा उपचारका लागि पठाउन सकिने व्यवस्था रहेको ज्ञवालीले बताए ।

लुम्बिनी प्रदेशमा २० अस्पताललाई मान्यता

विपन्न नागरिक उपचार सेवाअन्तर्गत पर्ने विभिन्न रोगको पहिचान, प्रमाणित तथा उपचारका लागि सरकारले लुम्बिनी प्रदेशका २० वटा अस्पताल तथा उपचार केन्द्रलाई मान्यता दिएको छ । मान्यता प्राप्त अस्पतालमध्ये भेरी अस्पताल, नेपालगन्जलाई सिकलसेल एनिमिया, हेमोडायलाइसिस, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सेरोपोजेटिभ डायलाइसिस, अल्जाइमर्स र पार्किन्सन्स रोगको परीक्षण तथा उपचारका लागि मान्यता दिइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले सिकलसेल एनिमिया, हेमोडायलाइसिस र सेरोपोजेटिभ डायलाइसिसका लागि सेवा प्रदान गर्छ । जिल्ला अस्पताल, बर्दियालाई सिकलसेल एनिमिया र हेमोडायलाइसिसका लागि मान्यता दिइएको छ भने भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा हेमोडायलाइसिसको मान्यता छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवललाई मुटुरोग र हेमोडायलाइसिस तथा सिद्धार्थनगर सिटी हस्पिटल प्रालि., भैरहवालाई हेमोडायलाइसिसको प्रमाणित तथा उपचार सेवाका लागि मान्यता दिइएको छ ।

क्रिमसन अस्पताल, मणिग्राम, रुपन्देहीलाई हेमोडायलाइसिस, मुटुरोग, हेड इन्जुरी र स्पाइनल इन्जुरीका लागि तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिकलसेल एनिमिया र हेमोडायलाइसिसका लागि मान्यता प्राप्त छ । राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरलाई सिकलसेल एनिमिया र हेमोडायलाइसिस तथा नेपालगन्ज मेडिकल कलेजलाई हेमोडायलाइसिस, सेरोपोजेटिभ डायलाइसिस, हेड इन्जुरी र स्पाइनल इन्जुरीका लागि मान्यता दिइएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई क्यान्सर रोगको परीक्षण तथा उपचार र जिल्ला अस्पताल, कपिलवस्तुलाई सिकलसेल एनिमियाका लागि मान्यता दिइएको छ । यस्तै, सिद्धबाबा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि., बुटवललाई हेमोडायलाइसिस, आरसी थारु मेमोरियल नगर अस्पताल, बर्दियालाई सिकलसेल एनिमिया, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लमही डायलाइसिस सेन्टर र पाल्पा डायलाइसिस सेन्टरलाई हेमोडायलाइसिसका लागि मान्यता दिइएको छ । गुल्मी अस्पताल तम्घास, कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर बाणगंगा, रामपुर अस्पताल, पाल्पा र पृथ्वीचन्द्र अस्पताल, नवलपरासीलाई पनि हेमोडायलाइसिस सेवाका लागि मान्यता प्राप्त छ ।