September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

भोटेकोशी बाढीमा बेपत्ता चारजनाको शव भारतमा भेटियो

Advertisement

परासी—भोटेकोशी नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका चारजनाको शव भारतमा फेला परेको छ । भारतको महाराजगन्ज जिल्लाको नदी क्षेत्रमा भेटिएका ती शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी मदन थापाले बाढीले बगाएर भारत पुगेका चारवटा शव भारतीय प्रहरीमार्फत नेपाल ल्याइएको बताए । उनका अनुसार, ती शव भारतीय सुरक्षाकर्मीले नेपाललाई हस्तान्तरण गरेको हो । नेपाल प्रहरीले शव बुझेर आवश्यक पहिचान तथा प्रक्रिया अघि बढाएको छ ।

हाल ती शवहरू पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएका छन् । प्रहरीले शवको पहिचानका लागि डीएनए परीक्षण गर्ने तयारी गरेको जनाएको छ । ती शव नारायणी नदी हुँदै बगेर भारततर्फ पुगेका हुन् ।

यसअघि पश्चिम नवलपरासीको नारायणी नदी किनारबाट ५४ वटा शव तथा २८ वटा मानव अंग फेला परिसकेका छन् । फेला परेका शव तथा मानव अंगको डीएनए परीक्षणपछि पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ ।

पहिचान प्रक्रिया पूरा भएपछि व्यवस्थापनका लागि सुनवल नगरपालिकास्थित मुलपानी सामुदायिक वन क्षेत्रमा खाडल खनेर शव व्यवस्थापन गर्ने तयारी गरिएको सुरक्षा निकायले जनाएको छ ।