August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

लुम्बिनी प्रदेशमा अतिक्रमित जमिन हटाउन अभियान

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका जिल्लाहरुमा अतिक्रमित जग्गा खाली गराउन अभियान नै सुरु हुने भएको छ । विभिन्न पालिकाहरुले सूचना नै निकालेर अतिक्रमण हटाउन समावधि तोकेका छन् । दुई दिन अघि मात्रै बुटवल उपमहानगरपालिकाले उच्च अदालत तुलसीपुर बुटवल इजासको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएको थियो ।

Advertisement

काठमाडौंबाट सुरु भएको अतिक्रमति जग्गा हटाउने अभियान अहिले प्रदेशका विभिन्न जिल्लाहरुमा सुरु हुँदैछ । दाङका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना र अवैध रुपमा गरिरहेको भोगचलन हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मंगलबार बसेको सरोकारवालाहरुको सहभागिताको बैठकले अतिक्रमित क्षेत्र फिर्ता लिने निर्णय गरेको छ ।

जिल्लामा रहेका सरकारी, सार्वजनिक, ऐलानी र पर्ति जग्गाहरूको संरक्षण गर्न तथा त्यस्ता जग्गामा गरिएको अवैध कब्जा हटाउन जिल्ला प्रशासनले विशेष अभियान थालेको बताएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र विभिन्न ऐनहरूले तोकेको जिम्मेवारीअनुसार सरकारी निकायका जग्गाहरू खाली गराउने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । यता देवदह नगरपालिकाले १५ दिनको सार्वजनिक सूचना नै निकालेर अतिक्रमित जमिन खाली गर्न भनेको छ ।

यस्तै, कपिलवस्तुको शिवराज नगरपालिकाले पनि सूचना जारी गरेर अतिक्रमित जमिन खाली गर्न भनेको छ । बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्र निर्माण स्थलमा अतिक्रमणमा परेको जग्गा पनि खाली गर्न केन्द्रले निर्देश्न दिएको छ । बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा पनि जग्गा खाली गर्न भनिएको छ ।

बर्दियामा पनि जग्गा खाली गर्न सूचना जारी भएको छ । केन्द्रबाट सुरु भएको अभियान अहिले देशभर सुरु हुँदैछ । यसैक्रममा लुम्बिनीका जिल्लाहरुमा पनि अभियान थाल्ने तयारी गरिएको हो । रुपन्देहीमा मात्रै सयौं विघा जमिन अतिक्रमणमा परेको छ ।

मोतिपुर औद्योगिक क्षेत्रस्थलमा सयौं घरटहरा छन् । ती टहरा हटाउने क्रममा यसअघि गोली नै चलेको थियो । केहीको मृत्यु समेत भएको थियो । बुटवल, देवदह, सैनामैनामा सरकारी सम्पत्ति कब्जा गरी हजारौं घरटहरा बनाइएको छ । बर्दियामा उस्तै छ । निकुञ्जदेखि सरकारी जग्गा अतिक्रमण भएको छ । कतिपय ठाउँमा जमिन खाली गर्न सहज भए पनि धेरै ठाउँमा बाक्लो बस्ती भएकाले जोखिम बढीरहेको छ ।