August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

होटल पौवाका सबै शाखाहरूमा ‘पौवा स्वाद उत्सव’

Advertisement

भैरहवा– वार्षिकोत्सवका अवसरमा होटल पौवाका सबै शाखाहरुमा ‘पौवा स्वाद उत्सव’ सुरु भएको छ । बिहीबारदेखि सुरु स्वाद उत्सव तीन दिनसम्म चल्नेछ । उत्सव होटलका मुलुकका विभिन्न ठाउँमा रहेका २० वटै शाखामा एकसाथ सुरु भएको छ ।

Advertisement

होटल पौवा प्रालि भैरहवामा बिहीबार आयोजित ‘पौवा स्वाद उत्सव’को उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँनले सबैको मिहनत र ग्राहकको सतुष्टिले नै पौवाले नाम कमाएको बताए । ‘यहाँ पाइने परिकार सस्तो छ, हाइजेनिक र राम्रो छ’, खाँनले भने, ‘पौवाले अहिलेसम्म गुनासोरहित सेवा दिइरहेको छ ।’ आगामी दिनमा पनि पौवाले ग्राहकको मन जितिरहने उनले विश्वास व्यक्त गरे ।

नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको हो । शाखाका महाप्रबन्धक निशान्त खरेलले तीन दिनसम्म फरक–फरक स्वादका परिकारहरु बनाएर पाहुनालाई खुवाइने बताए । उनका अनुसार भैरहवासँगै सबै शाखाहरुमा उत्साहपूर्णरुपमा उत्सव भइरहेको छ । उत्सवको अवसरमा भैरहवा शाखाले बुधबार सचेतना र्यालीसहित रक्तदान कार्यक्रम पनि गरेको थियो ।

‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको खरेलले बताए । वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्दै छ । एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको होटलले बताएको छ ।

होटलका संचालक घनश्याम यादवले आज यो अवस्थामा आइपुग्दा सबैको साथसहयोगले खुशी तुल्याएको बताए । उनले आगमी दिनमा पनि सबैको साथ पाउने विश्वास व्यक्त गरे । पौवाले आफ्ना पाहुनालाई सधैं सन्तुष्ट बनाउने गरी काम गरिरहेको उनको भनाई छ ।

होटल पौवा सञ्जालमा हाल झण्डै एक हजार भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ । उत्सवका अवसरमा होटलका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान समेत गरिएको थियो ।