भेरी अस्पतालमा सिफलिस रोगसम्बन्धी बैज्ञानिक अनुसन्धान सुरु


भैरहवा– नेपालगञ्जस्थित भेरी अस्पतालमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी एक बर्षे बैज्ञानिक अनुसन्धान सुरु गरिएको छ । असुरक्षित तथा जोखिमपूर्ण यौन सम्बन्धका कारण हुने यस रोगबाट बिरामी र विरामीको परिवारिक जीवन तथा मानसिक स्वास्थ्यमा पर्ने गम्भीर प्रभावका वारेमा अध्ययन गरि रोगको वारेमा पर्याप्त जनचेतना र उपचारमा सहज पउँच पुर्याउन अनुसन्धान सुरु गरिएको हो ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा.बद्री चापागाईले पछिल्लो समयमा किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको जनाए । ‘सिफलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा सीमित गर्न हुदैन’ डा. चापागाई भन्छन्, ‘यसले रोजगारी, पारिवारिक जीवन र मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको छ । यसरोग सम्बन्धि विद्यमान भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबाट पनि बिरामी उत्तिकै प्रताडित छन् ।’
२०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने अनुसन्धानले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिएका व्यावहारिक चुनौती वारे तथ्यगत जानकारी दिदै अध्ययनबाट प्राप्त निष्कर्षले भविष्यमा राष्ट्रिय एसटिआई मार्गनिर्देशन तथा वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
डा.चापागाईका अनुसार सिफलिस उपचार सम्भव हुने सरुवा रोग हो । समयमै परीक्षण र उपचारमा ध्यान दिन जरुरी छ । यो रोगको रोगको उपचार, परीक्षण तथा परामर्शका लागि भेरी अस्पतालमा भेनस कर्नर स्थापना गरिएको छ । सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको र दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको भनाइ चापागाईको छ ।








प्रतिकृया दिनुहोस्