चिसोमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


भैरहवा–बिगत केही दिनदेखि मुलुकभर अत्याधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने तर्फ सचेत गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन सवै सर्वसाधारणमा अनुरोध गरेको छ ।
चिसोबाट चाँडै र बढी प्रभावित हुने व्यक्तिलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम, स्वास प्रश्वासमा समस्या बढ्न सक्ने भएकाले सावधानी अपनाउँदै जरुरी काम बाहेक चिसोमा घर बाहिर ननिस्कन आग्रह गरेका हुन ।
जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपातले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने र रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरु बढ्ने गरेको बुढाथोकीले जनाएका छन् ।
उनले चिसोका कारण देखिने समस्या रहिरहेमा वा बढेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत ढिला नगर्न उनले आग्रह गरेका छन् । बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगीलाई जाडोयाममा बढी जोखिम हुने भनाइ उनको छ । जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्नाका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम बढ्न सक्ने खतरा रहेको उनले औंल्याएका छन् ।
चिसोले उत्पन्न हुने लक्षण वा रोगबाट बच्न धुवाँधुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन सी पर्याप्त मात्रा भएका सुन्तला, कागती र अमला खाने, मौसम अनुसारको ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ खाने सुझाव उनको छ ।








प्रतिकृया दिनुहोस्