June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादमा बुद्ध पब्लिककी अनुस्का प्रथम

Advertisement

तिलोत्तमा– रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङ्गलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पछि पार्दै बुद्ध पब्लिककी विद्यार्थी अनुस्का भण्डारीले अन्तरविद्यालय वादविवादको उपाधि जितेकी हुन् ।

Advertisement

उनले उपाधिसँगै २० हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारिन् । ‘राष्ट्रिय राजनीतिमा युवाको सक्रियता पदीय महत्वाकांक्षा वा वर्तमान आवश्यकता’ विषयमा भएको प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल बुटवलकी जिविका बस्याल द्वितीय भइन् भने उनले नगद १५ हजार शिल्ड तथा प्रमाणपत्र हात पारेको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतमले बताए । उनका अनुसार प्रतियोगितामा छवी मिश्र तृतीय र स्वीकृति न्यौपानेले प्रोत्साहन पुरस्कार हात पारिन् । उनीहरुले जनही १० हजार, ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको सहप्राचार्य गौतमले बताए ।

पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरुलाई देश, समय, परिस्थिति काल अनुसारका ज्ञान र सीप सिकाउनु आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै ब्यवहारिक र बाहिरी ज्ञानमा पनि सक्रिय बनाएमा भविष्यमा काम लाग्ने शिक्षा पाउने र दिक्षित हुने जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्याब्सन नेपालका उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मी, हिसान रुपन्देहीका पूर्व अध्यक्ष दिनेश भुसाल, उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघका अध्यक्ष गोपाल बस्याल, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै प्रतियोगितामा सहभागिता जनाउनु नै विद्यार्थीको जित भएको भन्दै हौसला प्रदान गरे ।