June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

बर्दघाट नगरपालिमा सवै स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन

Advertisement

सूचनाको माध्यमबाट नगरको स्वास्थ्य सेवालाई सहज र प्रविधिमैत्री बनाउन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एन्ड्रोइड स्मार्ट फोन उपलब्ध गराएको छ ।

Advertisement

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको स्वास्थ्य क्षेत्रमा खटिने स्वयंसेविकाहरूको कार्यसम्पादनमा सहजता बनाउदै नगरको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट फोन उपलब्ध गराइएको बताए ।

नगरपालिका, बिरामी र स्वास्थ्य स्वयंसेविकाबिचको सम्पर्कलाई छिटो र प्रभावकारी बनाउनका लागि बर्दघाट नगरपालिकाको स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्टफोन उपलब्ध गराइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूको कामलाई अझै प्रभावकारी बनाउन र सूचना तथा सञ्चारलाई द्रुत गतिमा प्रवाह गर्न प्रविधिको आवश्यक पर्ने भएको बताउँछन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले नगरका हरेक टोल र बस्तीमा पुगेर स्वास्थ्य सेवाको जग बसालेको भनाइ पौडेलको छ ।

स्वयंसेविकाहरूले बालबालिकाहरूमा खोप, भिटामिन ‘ए’, परिवार नियोजन, सरुवा रोग रोकथाम, सरसफाई, पोषण लगायतका स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर काम गर्दै आएका छन् । बर्दघाट नगरपालिकामा एक नगर अस्पताल र चौपत्तामा एक शहिद स्मृती सामुदायिक अस्पताल सहित ४ वटा वर्थीङ्ग सेन्टर, ४ वटा स्वास्थ्य चौकी, १२ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र, १३ वटा गाउँघर क्लिनीक र २६ वटा खोप केन्द्र छन् ।

नगर प्रमुख श्रेष्ठले नगरको स्वास्थ्य कार्यक्रम तथा योजनामा स्वयंसेविकाहरूको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूको सेवानिवृत्त हुँदा प्रदेश सरकारले प्रदान गर्ने ५० हजार रुपैयाँमा बर्दघाट नगरपालिकाले थप २ लाख ५० हजार रुपैयाँ थपेर जम्मा ३ लाख रुपैयाँ उपलब्ध गराउने नीति लिएको जनाएका छन् ।