रोटरी सेन्ट्रल लुम्बिनीले मर्चवारमा आँखा शिविर गर्दै, २५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य


भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको मर्चवारमा आँखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविर संचालन गर्ने भएको छ । आँखा जाँच र विरामीलाई औषधि वितरणसँगै मोतियाबिन्दुको पनि शल्यक्रिया गर्ने गरी शिविर संचालनको तयारी गरिएको हो ।
क्लबले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्लाको कोटहीमाई गाउँपालिका–५, मझगाँवामा निःशुल्क आँखा शिविर संचालन गर्न लागिएको जनाएको हो । क्लबका अध्यक्ष विष्णु शर्माले सामाजिक उत्तरदायित्व र क्लबको नियमित स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत आँखा शिविर गर्न लागिएको जानकारी दिए । उनका अनुसार अस्पतालको पहुँचमा नपुगेर विभिन्न कारणले उपचारबाट बञ्चित भएका मर्चवारबासीलाई घर नजिकै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
यही मंसिर २० गते शनिबार आयोजित उक्त शिविरमा करिब २ सय ५० जनाको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । उनले शिविरमा जिल्लाका जुनसुकै स्थानका नागरिकले सहभागी भएर आँखा जाँच र मोतियाविन्दु देखिए शल्यक्रिया गर्न सक्ने बताए । सामाजिक क्षेत्रमा निरन्तर गतिविधि गरिरहेको सेन्ट्रल लुम्बिनीले उक्त शिविरमा सहभाी हुन सबैलाई आग्रह गरेको छ ।
‘आँखा जाँच गराउन आउने चार–पाँच सय जना पनि हुनसक्नुभयो । तर, हामीले मोतियाविन्दुको शल्यक्रियालाई बढी फोकस गरेकाले समस्या देखिएका विरामीलाई लाभ उठाउन अनुरोध गर्दछु’, अध्यक्ष शर्माले भने । उनका अनुसार यो वर्ष कम्तिमा २ सय ५० जनाको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । यदि उक्त शिविरमा लक्ष्य नपुगे अन्य ठाउँमा निःशुल्क शिविर गरेर भए पनि लक्ष्य पूरा गरिनेछ ।
आँखा शिविरका लागि भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्राविधिक सहयोग गरेको छ । यस्तै, एभरेष्ट बैंक लिमिटेडले सहप्रायोजन गरेको छ । लुम्बिनी नेत्रालयका संचालक तथा चिकित्सक डाक्टर हिरा शाहले लुम्बिनी प्रदेशमा मोतियाविन्दुका विरामीको संख्या करिब ३० हजार रहेको तथ्यांकले बताएको जनाए । उनले त्यसमा पनि मर्चवार, लुम्बिनी लगायत सीमा क्षेत्रमा समस्या बढी देखिएको जनाए । यसैले नेत्रालयले रोटरी क्लबसँग सहकार्य गरी ५० प्रतिशत छुटमा प्राविधिक सहयोग गरेको जनाए । उनले विरामीले भने निःशुल्क सेवा पाउने जनाए । समयमै आँखा जाँच र समस्या देखिए उपचार गर्न उनको सुझाव छ ।
क्लबका पूर्वअध्यक्ष तथा शिविर संयोजक प्रेम शर्मा लोहनीले क्लबको उद्देश्य मोतियाबिन्दुका विरामीहरुको संख्या घटाउँदै लैजानु रहेको जनाए । शिविर र सचेतना कार्यक्रमले सके न्युनिकरण गर्ने र नसके समयमै उपचार गर्ने बानीको विकास गर्न क्लब लागि परेको उनको भनाई छ । क्लबका सचिव बासु बडालले आँखा पहिलो ज्योति भएकाले निकै ख्याल गर्नुपर्ने बताए । सानो लापरबाहीले भोलिका दिनमा आँखा देख्नै नसक्ने अवस्था आउन सक्ने जनाउँदै शिविरमा निःशुल्क सेवा लिन सबैमा आग्रह गरे । आँखा शिविरका अर्का संयोजक गंगाधर भण्डारीले मोतियाविन्दुको समस्या भएका विरामीलाई २० गतेको शिविरमा सहभागी भई लाभ लिन आग्रह गरे । लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले सामाजिक क्षेत्रमा रोटरी क्लबले खेलेको भूमिका सह्रानीय रहेको बताए ।








प्रतिकृया दिनुहोस्