September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

एकीकृत घुम्ती शिविरमा ४५८ जनाले सेवा लिए

Advertisement

पाल्पा– जिल्लाको रामपुर नगरपालिका–१, मा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट ४ सय ८५ जनाले विभिन्न सेवा लिएका छन् । रामपुर नगरपालिकाले वडा नम्बर १ र २ का बासिन्दालाई लक्षित गरेर शिबिर सञ्चालन गरेको जनाएको छ ।

Advertisement

स्थानीयलाई सबैं सुविधा घरदैलोमा पुर्याउन स्वास्थ्य जाँचसहितको सेवा प्रवाह गरेको नगरप्रमुख रमण बहादुर थापाले बताए । शिविरबाट योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नवीकरणलगायतको सेवा प्रदान गरिएको उनले बताए । कृषि तथा पशु सेवा लगायतका सेवा, आँखा, कान परीक्षणसहित अन्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको छ ।

शिविरमा स्वास्थ्य जाँच सेवा १ सय ७० जनाले लिएका छन् भने ल्याब सेवा १ सय ४० जनाले लिए । शिविरमै मधुमेह परीक्षणका साथै ४५ जनाको एचआईभी परीक्षण गरिएको छ । आँखा तथा कान परीक्षण (आँखा जाँच १ सय ३० र कान परीक्षण ७० जना) गरिएको थियो । आँखाको परीक्षण गरिएका मध्ये ११ जनामा मोतिया विन्दुको समस्या देखिएको कालीगण्डकी आँखा उपचार केन्द्रका प्रमुख सुन्दर रानाले बताए ।

सामाजिक सुरक्षा भत्ताको बायोमेट्रिक सेवा ४२ जना, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र सेवा ६ जनाले लिएका छन् । शिविरबाट २७ वटा योजनाको सम्झौता र एक वटा योजनाको बैंक खाता खोलिएको छ । शिविरबाटै पशु सेवा १ सय ७० जना, कृषि सेवा २ सय ६ र आयुर्वेद सेवा १ सय १ जनाले लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले बताए । शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञसहितको स्वास्थ्य जाँच, कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परीक्षण र औषधि वितरण सेवा प्रवाह गरिएको थियो ।